फाल्गुनन्द गोल्डकप: आयाेजक फिदिम स्पोर्टिङलाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश

 पुस २४, २०७५ मंगलबार १८:३८:१० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको सदरमुकाम फिदिममा जारी १० औै संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्थानीय फिदिम माविको खेल मैदानमा  मंगलबार सम्पन्न क्वार्टरफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङविरुद्ध टाइब्रेकरमा ४–१ गोल अन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो ।

प्रतियोगितामा ४ मिनेटको बीचमा ३ गोेल भएको थियो । खेलको ३० औँ मिनेटमा राजिब गुरुङको गोलबाट आर्मीले अग्रता लिएको थियो । १ गोलले पछि परेको अवस्था उल्टाउँदै फिदिमले २ मिनेटको बीचमा २ गोल गर्‍यो ।

६९ औँ मिनेटमा शरण बस्नेत र ७० औँ मिनेटमा विदेशी खेलाडी स्टाफानले गोल गर्दै टिमलाइ २–१ को अग्रता दिलाए । २–१ ले पछि परेको आर्मीले आक्रामक खेल प्रदर्शन गर्दै ७२ औँ मिनेटमा  बराबरी गोल गर्‍यो । आर्मीका लागि राजिब गुरुङले नै बराबरी गोल गरे ।

खेलको अन्तिम ३० सेकेण्डको समयमा प्रबिन जवेगुको फ्रिकिक प्रहार पोलमा ठोक्किएर फर्किँदा खेल टाइब्रेकरतर्फ गयो । टाइब्रेकरमा आर्मीका एरिक बिष्ट, राजिब गुरुङ, राजेश पौडेल र गोल किपर विश्वास चौधरीले गोल गरेका थिए ।

फिदिमका तर्फबाट प्रबिन जवेगुको प्रहारमात्र गोलमा परिणत भयो । ओम बिक्रम घले र शरण बस्नेतको प्रहार आर्मीका गोलकिपर विश्वास चौधरीले बचाए । 

आर्मीका गोलकिपर विश्वास चौधरीले म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार स्वरस्वती क्लब, काठमाडौं र सुनसरी–११ बीच प्रतिस्पर्धा हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया