गाडी र पेट्रोलियम पदार्थको आयात डरलाग्दो : ‘टुँडिखेल जत्रो बाटो भए पनि नपुग्ने भयो’

 पुस २४, २०७५ मंगलबार २०:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालको व्यापार घाटा बर्सेनि बढ्दो छ । यस आर्थिक वर्षको ५ महिनामा पनि व्यापार घाटा ५ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको  छ ।

नेपालले ३७ अर्ब ५० करोड रुपैयाँका सामग्री निर्यात गर्दा ६ खर्ब ७ अर्ब रुपैयाँ रुपैयाँका सामाग्री आयात गरेको छ । हरेक वर्ष आयात बढ्छ, निर्यात पनि केही बढेको हुन्छ, तर निर्यात थोरै बढ्दा आयातको ग्राफ निकै ठूलो हुन्छ । नेपालले पेट्रोलियम पदार्थ, स्टील, गाडी, पाटपुर्जा लगायतका सामग्री आयातमा सबैभन्दा धेरै पैसा बाहिर पठाउँदै आएको छ । 

यो वर्षको पहिलो पाँच महिनामा पनि पेट्रोलियम पदार्थ र गाडी आयातको ग्राफ निकै बढेको छ । 

यो वर्षको ५ महिनामा पेट्रोलियम पदार्थको आयात ५८ दशमलब ४ प्रतिशतले बढेको छ । गएको आर्थिक वर्षको पहिलो ५ महिनामा ५५ अर्ब ५६ करोडको पेट्रोलियम पदार्थ आयात भएकोमो चालु आर्थिक वर्षको  पहिलो ५ महिनामा ८७ अर्ब ९९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

यो ग्राफ निकै ठूलो भएकाले यसको गम्भीर समीक्षा गर्नुपर्ने अर्थविद् पोषराज पाण्डे बताउनुहुन्छ । ‘विकासका ठूल्ठूला आयोजनाको काम धुरन्धर भैरहेको पनि खासै छैन, हामी सुविधाभोगी बन्दै गएर यो बढेको हुनसक्छ, पेट्रोलियमको आयात किन यसरी दोब्बर आयात भैरहेको छ भनेर समीक्षा गर्नैपर्छ ।’ उहाँले भन्नुभयो । 

साना गाडीको आयात बढ्यो, ठूलाको बढेन

पेट्रोलियम पदार्थको आयात जस्तै गाडीको आयात पनि बढ्दो छ । गएको आर्थिक वर्षको पहिलो पाँच महिनामा भन्दा यो आर्थिक वर्षको पहिलो पाँच महिनामा गाडीको आयात १९ प्रतिशतले बढेको छ । 

पोहोर साउनदेखि मंसिरसम्म ३७ अर्ब १२ लाख रुपैयाँका गाडी आयात भएका थिए । तर यो आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ४४ अर्ब १२ करोड रुपैयाँका गाडी आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार यसरी आयात भएका गाडीमा निजी र विलासी गाडीको संख्या धेरै छ । ठूला गाडीको आयात न्यून छ । 

साना गाडी आयातको यही दर कायम रहे केही वर्षमा टुँडिखेल जत्रै बाटो बनाए पनि अपुग हुने बताउनुहुन्छ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे । 

‘हामीले मास ट्रान्सपोटेशनलाई जोड दिनुपर्ने हो, तर भन्सारको तथ्यांक हेर्दा साना गाडीको आयात बढ्दो देखिएको छ, यही अनुपातको गाडी आयात बढ्दै जाने हो भने केही वर्षमा टुँडिखेल जत्रो बाटो बनाए पनि नपुग्ने हुन सक्छ’, उहाँले भन्नुभयो । 

फलामजन्य पदार्थको आयात दोब्बर, सुनको आयात पनि कम छैन

फलामजन्य पदार्थको आयात पनि बढ्दो छ । गएको आर्थिक वर्षको पहिलो पाँच महिनामा ४८ अर्ब ९१ करोडको फलामजन्य पदार्थ आयात भएकोमा यो वर्षको पहिलो पाँच महिनामा ७३ अर्ब २३ करोडको फलामजन्य बस्तु आयात भएको छ । 

यस्तै सूनको आयात पनि बढ्दो  छ । गएको आर्थिक वर्षको पहिलो पाँच महिनामा १२ अर्ब ९३ करोड रुपैयाँको सुन आयात भएकोमा यो आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १४ अर्ब ६५ करोड रुपैयाँको सुन आयात आएको छ । 


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया