‘छक्का पञ्जा ३’ अब क्यानडामा प्रदर्शन हुने

 पुस २५, २०७५ बुधबार १०:५१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालमा रिलिज भएको लगभग ६ महिना पछि छक्का पञ्जा ३ क्यानडामा रिलिज हुँदैछ । यो चलचित्र व्यवसायिक हिसाबले नेपाली चलचित्र बजारमा अहिलेसम्मकै सफल चलचित्र हो । क्यानडा प्रदर्शनको जिम्मा नेपालको एकमात्र हाँस्यव्यङग्य रेडियो प्रशारण संस्था रेडियो अडियोले  लिएको छ ।

रेडियो अडियो छक्का पञ्जा ३ को एक्सक्ल्युसिभ मिडिया पार्टनर पनि हो । क्यानडामा छक्का पञ्जा ३ प्रदर्शन को तयारीका बारेमा हामीले छक्का पञ्जा ३ का कलाकार समेत रहेका रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारीसँग कुराकानी गरेका छौँ । 

नेपालसँगै विश्वका धेरै देशहरुमा चलचित्र प्रदर्शन भइसक्यो, क्यानडामाचाहिँ किन ढिला गर्नु भएको ?

ढिलो भएको होइन समय कुरेको हो । खासमा यतिबेला क्यानडामा अत्याधिक चिसो छ । यो बेलामा सिनेमा चलाउँदा दर्शकलाई अलि प्रभाव पर्ने देखिएकोले हामी पछि सरेका हौं । उतातिरकै साथीहरुको सल्लाहमा हामीले मार्च महिनाको मिति तोकेका हौँ । चलचित्र ढिला प्रदर्शन गर्नुको मुख्य कारण भनेको मौसम हो । 

क्यानडाका कुन कुन शहरमा चलचित्र लाग्दैछ ?

क्यानडाका शहरहरुमा ‘जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ छक्का पञ्जा ३’ भन्ने हाम्रो नारा नै छ । टोरन्टो, कैलगरी र एडमन्टनमा लगभग पक्का नै भैसक्यो । अन्य शहरका लागि हामीले स्थानिय पार्टनरसँग कुरा गरिरहेका छौँ । मुख्य कुरा क्यानडाबासि सबै नेपालीमाझ छक्का पञ्जा ३ पुगोस् भन्ने नै छ । त्यसैले सबै शहरहरुमा चलचित्र लगाउने तयारी गरिरहेका छौँ । 

क्यानडामा कति शो प्रदर्शन गर्दै हुनुहुन्छ ?

यसका बारेमा अहिले ठ्याक्कै यही भन्न सकिँदैन किनभने अमेरिकामा छक्का पञ्जा ३ एक महिनासम्म लगातार हाउस फुल भयो । जापान र अष्ट्रेलियामा उच्च व्यवसायिक सफलता हाँसिल गर्यो । दुबई, हङकङलगायतका देशमा जहाँ चल्यो त्यहाँ ब्लकबस्टर भयो । हामी त क्यानडामा पनि यस्तै होस् भन्ने चाहान्छौँ। 

क्यानडाका दर्शकले चलचित्रलाई साथ देलान् भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?

सिनेमा र दर्शकसँग ढुक्क नभएको भए हामीले क्यानडामा सिनेमा लाने तयारी नै गर्दैनथ्यौँ । तपाईलाई थाहा छ, रेडियो अडियोले विदेशमा सिनेमा वितरणको शुरुवात नै क्यानडाबाट गर्दैछ । दर्शकको मागलाई मध्यनजर गरेर चलचित्र प्रदर्शन गर्न लागेका हौँ । त्यसैले क्यानडाका दर्शकले पनि चलचित्रलाई  साथ दिनेमा हामी विश्वस्त छौँ ।

नेपालसँगै अन्य विभिन्न देशहरुमा त चलचित्रले रेकर्ड नै राख्न सफल भएको छ, के क्यानडामा पनि चलचित्रले रेकर्ड बनाउन सक्ला ?

चलचित्रमा उठान गरिएको विषयवस्तुले दर्शकको मन जित्न सफल भएको छ । विभिन्न देशहरुमा विभिन्न रेकर्ड राख्न सफल भएको चलचित्रले क्यानडामा नराख्ला भन्न सकिन्छ र ?

छक्का पञ्जा ३ प्रदर्शनका लागि क्यानडा नै रोज्नुको कारण के हो ?

पहिलो कुरा सिनेमा वितरणमा यो हाम्रो पहिलो प्रयास हो । त्यसैले हामी घाटाको व्यापार गर्दैनौं । यसको मतलब पैसाकै लागि हामीले क्यानडा राजेको पनि हैन तर एउटा कुराचाहिँ पक्का के हो भने अन्यत्र जस्तै क्यानडामा पनि नेपाली सिनेमालाई माया गर्ने दर्शक हुनुहुन्छ । 

तर अधकांश सिनेमा धेरै दर्शक भएको ठाउँमा पुग्छन् हामीले धेरै दर्शक भन्दा पनि नेपाली सिनेमालाई माया गर्ने दर्शक खोज्दै जाँदा क्यानडालाई रोज्यौँ । क्यानडा पछि रेडियो अडियोले छक्का पञ्जा ३ लाई म्यान्मार लैजाँदै छ । क्यानडा को क्यालगरी मा रहेको चर्चित रेडियो  रेड एपmएमका साथै क्यानडामा रहेका विभिन्न नेपाली समुदाय र नेपालीका लागि काम गर्दै आएका संघ संस्था मिलेर सिनेमाको प्रदर्शन गर्दैछौं । भन्नाले सिनेमा प्रदर्शन पछि आउने आम्दानी हामीले मात्रै लिएर आउँदैनौं । स्थानीय संघ संस्थाका लागि कोष वृद्धिको पनि सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ । 

तपाईंहरुले चलचित्र छक्का पञ्जा ३ बाट अन्तराष्ट्रिय प्रदर्शन सुरु गर्नुको कारण के हो ?

रेडियो अडियोले नेपालमा एक किसिमको छाप बसाइसकेको छ । काठमाडौंमा मात्र नभएर देशैभरी हाम्राकार्यक्रमहरु प्रसारण भइरहेका छन् । त्यसैले पनि यसै समयमा हामीले फड्को मार्नु उचित ठानेका हौँ । त्यसमा पनि छक्का पञ्जा ३ सँग हाम्रो एक किसिमको सम्बन्ध त छँदै नै छ । हामी यसलाई व्यवसायिक हिसाबले नै अघि बढाउने छौँ ।

भने पछि अब रेडियो अडियोले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजारमा हात हालेको हो ?

हो , अब हामीले नगरे कसले गर्ने ? एउटा सिनेमा विदेशमा प्रदर्शन हुँदा निर्माता र प्रदर्शकले मात्रै पैसा कमायो भन्ने हैन । एउटा नेपाली सिनेमा विदेशमा प्रदर्शन हुँदा, हाम्रो भाषा पुग्छ, नेपाली समाज र संस्कृतिको अन्तर्राष्ट्रियस्तरमा पुग्छ । गीत संगीतले नयाँबजार पाउँछ । 

यी सबै कुरा ख्याल गरेर हामीले यसको सुरुवात गरेका छौँ । र अब संसारैभरी नेपाली नपुगको ठाउँ छैन । हेर्दै जानुस् एक दिन यस्तो समय आउँ, जसरी भारतीय सिनेमा संसारभर एकैसाथ रिलिजभए जस्तै नेपाली सिनेमाको बजार पनि सम्भव छ । 

हामी यही अभियानमा छौं र समाजलाई भ्रममा नपार्ने, गहन विषय वस्तुको उठान गरेका, व्यवसायिक हिसाबले घरेलु बजारमा  सफल मानिएका नेपाली जुनसुकै चलचित्र भए आगामी दिनमा व्यवसायिक हिसाबले  नै काम अगाडि बढाउने सोच बनाएका छौँ । त्यसै अन्तर्गत अहिले बनिरहेका केही प्रतिक्षित चलचित्रसँग पनि कुराकानी भइरहेको छ । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया