सडक नबनेको भन्दै पोखरामा सडकमै धान रोपाईं

 असार ३, २०७५ आइतबार १८:७:२८ | उज्यालो सहकर्मी

कास्की - लामो समयसम्म सडकको गुणस्तर सुधार नगरेको विरोधमा पोखरा लेखनाथ महानगरपालिका वडानम्बर-३१ का बासिन्दाले सडकमै धान रोपेका छन् ।

नगरचोकदेखि बेगनासताल बाँधसम्मको सडक लामो समयदेखि नबनेपछि सडककै खाल्टामा धान रोपेर साँकेतिक विरोध गरेको उनीहरुले बताएका छन् । 

८ सय ३० मिटर लम्बाई र १४ मिटर चौडाइको सडकखण्डमा बेगनास सिंचाई आयोजना र स्थानीयवासीबीच विवाद हुँदा काम हुन सकेको छैन ।

विवादका कारण सडकका लागि छुट्याएको रकम खर्च हुन नसकेर फिर्ता भएको वडाध्यक्ष कमल थापाले बताउनुभयो । सडक सिंचाई कार्यालयको लालपूर्जामा उल्लेख भएकाले विवाद रहँदै आएको हो । 

सिंचाइ कार्यालयले स्थानीयवासीलाई मापदण्ड अनुसारको जग्गा छाडेर सडक निर्माण गर्न आग्रह गरेको थियो । तर, कतिपय घर सिंचाईको जग्गासम्मै जोडिएर बनेका छन् । 

मापदण्ड छोडेर बाटो बनाउँदा घर भत्काउनुपर्ने भएपछि थानीयवासीले विरोध गरेका थिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया