सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकार र मन्त्रीहरुलाई सभामुखकाे निर्देशन

 पुस २५, २०७५ बुधबार १४:२६:१५ | उज्यालो सहकर्मी

काठमाडाैं - प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकार र मन्त्रीहरुलाई रुलिङ गर्नुभएको छ । 

बुधबारको बैठकको सुरुमा नै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीको नियम २ सय १९ को उपनियम २ बमोजिम प्रधानमन्त्री तथा मन्त्रीहरुसँग प्रश्न गर्न पाउनुपर्ने व्यवस्थाको अधिकार सुरक्षित गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले सरकारलाई रुलिङ गर्नुभएको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने भन्दै पुस २२ गते प्रतिनिधिसभा नियमावली २ सय १९ को व्यवस्था अनुसार प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्यमा २ सय १९ को २ को व्यवस्था अनुसार सांसहरुलाई प्रश्न सोध्न दिनुपर्नेमा त्यसो नभएको र अवरोधकाबीच सदनको कारबाही बढाइएको भन्दै नियमावलीमा भएको व्यवस्था अनुसार सांसदको अधिकारको रक्षा गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

शुक्रबारको बैठकमा आफूहरुलाई प्रश्न सोध्न नदिएर व्यवस्थापकीय पक्षमा सभामुखको पनि कमी कमजोरी देखिएको भन्दै सदन अवरोध गर्दा गर्दै सदनको कारबाही अगाडि बढाउनु शोभनीय परम्परा नभएकाले आगामी दिनमा त्यसो नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

साथै सांसदले प्रश्न सोध्ने र उनीहरुको जवाफ मन्त्रीहरुले दिने कुराको सुनिश्चितता नभएसम्म बैठक सञ्चालन हुन नसक्ने बताएपछि सभामुखले  सरकारलाई रुलिङ गर्नुभएको हो ।

त्यसपछि सभामुख महराले सदनमा उठेको सवालमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सांसदहरुले बैठकमा राखेको प्रश्नको जवाफ दिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा नियमावलीको २ सय १९ बमोजिम माननीय मन्त्रीहरुले सार्वजनिक महत्वको वक्तव्य दिइसकेपछि माननीय सदस्यहरुले प्रश्न गर्न पाउने व्यवस्था रहेको र उक्त व्यवस्था यथावतै रहेको  समेत माननीय सदस्यहरुलाई आश्वस्त गराउँछु । साथै नेपाल सरकारले सार्वजनिक महत्वको वक्तव्य दिंदा नियमावलीको व्यवस्था बमोजिम माननीय सदस्यहरुले राख्नुभएको प्रश्नको जवाफ दिन नेपाल सरकारलाई निर्देश गर्दछु ।’ 

प्रतिनिधिसभाको गएकाे शुक्रबारको बैठकमा प्रधानमन्त्रीको वक्तव्यपछि प्रश्नउत्तरको समय उपलब्ध नगराइएको भन्दै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । उनीहरुको विरोधका बाबजुद सभामुखले कार्यसूचीमा भएका कामकारबाही अघि बढाएपछि कांग्रेस सांसदहरु थप असन्तुष्ट बनेका थिए ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया