सरकारले डाक्टर केसीसँग गरेको सहमतिको खिल्ली उडायो : गगन थापा

 पुस २५, २०७५ बुधबार १४:४८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले संसदीय समितिको बहुमतबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नु भएको छ ।

वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिको खिल्ली उडाउँदै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बहुमतले पारित गरेको विधेयकलाई संसदबाट सच्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नु भएको हो ।

सत्तारुढ नेकपाले संसदमा भएको शक्तिको दुरुपयोग गरेर नागरिकको ठूलो संघर्षपछि वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति विपरित सो विधेयक संसदीय समितिको बहुमतको बलमा जब्बरजस्ती पारित गर्नु दुर्भाग्यपूर्ण भएको कांग्रेस नेता थापाको प्रतिक्रिया छ ।

बुधबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै नेता थापाले सो विधेयक रोक्न र सच्याउनका लागि आफूहरु संसदको फूल हाउसमा लडाई जारी राख्ने चेतावनी पनि दिनुभयो । ‘त्यहीँ सरकार, जसले वरिष्ठ चिकित्सक केसीसँग सम्झौता ग¥यो, सम्झांैताको पाठ संसदमा पढ्यो’, नेता थापाले भन्नुभयो, ‘अहिले आएर हाँसी–हाँसी त्यसको खिल्ली उडायो ।’

नेता थापाले सत्तारुढ दलका केही व्यापारिक मानिसहरुको स्वार्थमा परेर सरकारले सो विधेयक समितिको बहुमतले पारित गराएको आरोप पनि लगाउनुभयो । उहाँले बहुमतको बलमा पारित गर्ने भए सो विधेयक गोविन्द केसीसँग भएको सम्झौता अनुसार नै पारित गर्ने भनि ‘सम्झौंता किन गरेको’ भनि सरकारलाई प्रश्न पनि गर्नुभयो ।

बुधबार बिहान संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सो विधेयक बहुमतले पारित गरेको थियो । सो विधेयकमा नेता थापासहितका कांग्रेसका चारजना सांसदहरुले असहमति जनाएका थिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया