मन्त्री अर्यालकै वडामा छैन खानेपानी, एउटा धारोको भरमा सिङ्गो बस्ती !

 पुस २५, २०७५ बुधबार १७:२१:१० | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा— स्याङजाको वालिङ नगरपालिका वडा नम्बर १४ स्थित भर्लेनेटाका दलित बस्ती खानेपानीको अभावमा कष्टकर जीवनयापन गर्न बाध्य भएका छन् ।

३५ घरधुरी रहेको सिंगो दलित बस्तीमा एउटा मात्रै धारा रहेको छ । उनीहरुले घण्टौंको पालो पर्खेर पानी भर्ने गरेका छन् । १५ वर्षदेखि एउटै धारोबाट खानेपानीको जोहो गर्दै आएका स्थानीयहरु अहिलेसम्म कसैले चासो नदेखाएको भन्दै दुखेसो पाखेका छन् ।

जाडोको समय बिहानैदेखि लाइनमा बसेर खानेपानीको जोहो गर्न यहाँका दलित समुदाय बाध्यतामा रहेका छन् । चिसोको बेवास्ता गर्दै लाइन बसिरहेकी ५६ वर्षीया मनकला परियार भन्नुहुन्छ, ‘दलित भएर नै होला, हामीलाई खानेपानीको व्यवस्था गरिदिने कोही नभएको ।’

कपडा धुनका लागि खोलामा जाने र खानेपानीका लागि दिनको ३ गाग्री मात्रै पानी पाइने दुखेसो मनकलाको छ । खाली पानी आउछ–आउछ मात्रै भन्छन्’, उहाँले नेताहरुप्रति लक्षित गर्दै भन्नुभयो, ‘कहिले आउने समय कुरेर बस्दा बस्दै वर्षौ बितिसक्यो ।’

ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका स्थानीय खुमबहादुर खानेपानीको जोहो गर्दैमा ज्यादारी काम गर्न समेत नपाएको दुखेसो पोख्छन् । चुनावमा खानेपानीको व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गरेका निर्वाचित जनप्रतिनिधिले समेत हिजो–आज त बोलाउन समेत छाडेको उहाँको गुनासो छ ।

३० घर परियार र ५ घर विश्वकर्मा बसोबास गर्दै आएका त्यो बस्तीका लागि अहिलेसम्म  वडा, नगरपालिका, प्रदेश र संघीय सरकारले समेतको आँखा परेको छैन । उता वडाले योजना नल्याएका कारण छुट्न गएको भन्दै वालिङ नगरपालिकाका उपप्रमुख एवंम बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक कल्पना तिवारीले भन्नुभयो, ‘यस विषयमा म गम्भीर भएकी छु ।’

कुनै पनि बस्ती, टोल र घर खानेपानी जस्ता आधारभूत आवश्यकताबाट नगरवासी बञ्चित नहुने आफूहरु योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । गएको हप्ता वालिङ नगरपालिकाले पुरक संशोधित बजेटका लागि ७१ करोड ५४ लाख पारित गरेको थियो । बजेटमा पनि यस दलितबस्तीमा खानेपानीको बजेट समेत छुट्टिन सकेन  ।

यसअघि पाँचौ नगरसभाले वालिङ १४ का लागि झण्डै ४७ लाख बजेट विनियोजन गरेको थियो । जसमा सडक, भवन र खानेपानीका लागि बजेट विनियोजन गरे पनि त्यो दलित बस्तीका लागि भने बजेट विनियोजन हुन सकेन ।

जुन बस्तीमा खानेपानीको चरम अभाव रहेको छ, त्यही वडामा जन्म लिएर राजनीति सुरु गरेकी गरेकी पद्मा अर्याल अहिले नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बहाल रहनुभएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया