खप्तड गोल्डकप : मोरङमाथि पुलिसको सहज जित

 पुस २५, २०७५ बुधबार १७:४१:२९ | निर्मला खडायत
unn.prixa.net

कैलाली – नेपाल पुलिस क्लबले तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बुधबारको खेलमा मोरङ फुटबल क्लबलाई ३–० ले पराजित गरेको छ ।

खेलको सुरुदेखि नै दबाब बनाएको पुलिसले तीर्थ रानाको गोलमा अग्रता बनायो । उनले सातौँ मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई मोरङका गोलरक्षक सन्तोष योन्जनले बचाउन सकेनन् । २५ औँ मिनेटमा मोरङका बालाको फ्रिकिकमा गोलरक्षकले पञ्च गरेको रिबाउन्डमा वि.बदुर रिजालको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३५ औँ मिनेटमा अभिषेक रिजालको उत्कृष्ट मुभमा तीर्थले पुलिसको अग्रता दोब्बर पारे । अभिषेकले एक्लै बढाएको बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै किपरलाई बिट गरेर दिएको पासमा तीर्थले हेडर गोल गरे । ४३ औँ मिनेटमा तेज तामाङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

दोस्रो हाफमा पनि पुलिसले आक्रामक रणनीतिलाई कायम राख्दै पोस्टमा आक्रमण गरिरह्यो । ५७ औँ मिनेटमा सन्तोष हेमरुनको क्रसमा निरकुमार राईको भली प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै निरकुमारले नै छोटो कर्नरमा सिधै पोस्टमा गरेको प्रहार क्रसबारमा लागेर फर्कियो ।

७५ औँ मिनेटमा अभिषेकको पासमा सन्तोष हेमरुनको प्रहार फितलो रहँदा पुलिसले अग्रता बढाउन सकेन । दोस्रो हाफको इन्जुरी समयमा अभिषेक रिजालको पासमा तीर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी खेलको म्यान अफ् द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

पराजित टोलीका प्रशिक्षक सञ्जिव बुढाथोकीले बलियो पुलिसविरुद्ध आफ्ना युवा खेलाडीले डटेर खेल्न नसकेको बताए । पुलिसका प्रशिक्षक अनन्त थापाले मैदान केही नयाँ भएकोले सेट हुन समय लागे पनि नतिजा हात पार्दा खुशी रहेको बताए ।

पुलिसले अब पुस २९ गते हुने क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दीको सामना गर्नेछ । बिहीबार हुने खेलमा भ्याली च्यासल युवा क्लबले दिल्ली युनाइटेडसँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया