डियाजको डेब्यू खेलमा रियल मड्रिडको जित

 पुस २६, २०७५ बिहिबार ८:२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस युवा स्टार ब्राहिम डियाजले डेब्यू गरेको खेलमा स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत प्रिक्वाटरफाइनल चरणको पहिलो लेगमा रियल मड्रिडले लेगानेसलाई ३–० गोलले पराजित गरेको छ ।

इंग्लिस क्लब म्यान्चेस्टर सिटीबाट गएको सातामात्रै १५ मिलियन पाउन्डमा रियलमा अनुबन्ध भएका १९ वर्षीय डियाजले रियलका लागि ७८औं मिनेटमा डेब्यू गरे । उनले भिनिसियस जुनियरलाई प्रतिस्थापन गरेका हुन्, जसले ७७औं मिनेटमा रियलका लागि तेस्रो गोल गरेका थिए ।

सर्जियो रामोसले पेनाल्टीमार्फत आफ्नो करिअरको सयौं गोल गरेपछि पहिलो हाफमा रियलले १–० को अग्रता लिएको थियो । ६८ औं मिनेटमा लुकास  भाज्क्वेजले अर्को गोल थपे ।

दोस्रो लेग अर्को साता लेगानेसको घरेलु मैदानमा हुनेछ । अन्य खेलमा एट्लेटिको मड्रिडले गेटाफेसँग एक एक गोलको बराबरी खेलेको छ भने भ्यालेन्सिया स्पोर्टिंग गिजोनसँग २–१ गोलले पराजित भएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया