जापानी विदेशमन्त्री कोनोद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

 पुस २६, २०७५ बिहिबार १२:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – जापानी विदेशमन्त्री तारो कोनोले राष्ट्रिपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । नेपाल र जापानबीच हवाई सम्झौता नविकरण गर्न बुधबार काठमाडौं आइपुग्नुभएका कोनोले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । 

राष्ट्रपति भवन शितलनिवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले नेपालले पनि विकसित देशको रुपमा अरु देशसँग सहकार्य गर्न चाहेको बताउनुभयो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री कोनोबीच बुधबार भएको सहमतिका आधारमा काठमाडौंदेखि टोकियोसम्म सिधा उडान गर्ने बारेमा छलफल भएको छ ।

नेपालको पूर्वाधारको क्षेत्रमा ठूलो सहयोग रहेको भन्दै कोनोले कृषिलगायतका अरु क्षेत्रमा पनि सहयोग गर्ने बताउनुभयो । नेपालबाट जापानमा कामदार लैजाने विषयमा अध्ययनको लागि आउँदो हप्ता नै जापानका प्रतिनिधि नेपाल आउने र चैतदेखि नेपाली कामदार जान पाउने गरी प्रक्रिया अघि बढाउने तयारी भएको पनि जापानी परराष्ट्रमन्त्री कोनोले बताउनुभयो ।

भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले जापानी परराष्ट्रमन्त्री कोनोलाई जन्मदिनको शुभकामना पनि दिनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया