६ महिनासम्म किन गएनन् गाउँपालिका प्रमुख कार्यालयमा?

 पुस २६, २०७५ बिहिबार १४:२८:१७ | राजु लामिछाने
unn.prixa.net

रुकुम –  रुकुम पूर्वको एउटा गाउँपालिकाका प्रमुख ६ महिनादेखि गाउँपालिकाको कार्यालयमा अनुपस्थित रहँदै आएका छन् । 

स्थानीय सरकारप्रमुख यति लामो समय कार्यालयमा नजाँदा जनताले कस्तो सरकारको अनुभूति गर्न पाए होलान्, प्रश्न गम्भीर छ ।

जानकारी अनुसार, रुकुमपूर्वको पुथा उत्तरगंगागा उँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती ६ महिनादेखि गाउँपालिका कार्यालय गएका छैनन् । ६ महिनादेखि स्थानीय सरकार प्रमुखले एकदिन पनि कार्यालयमा पाइला नटेकेको कर्मचारी र सर्वसाधारणले बताएका छन् । 

किन गएनन् अध्यक्ष कार्यालयमा?

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको कार्यालय कहाँ राख्ने भनेर निर्णय लिनका लागि गएको साउन १० गते मतदान भएको थियो । हालसम्म गाउँपालिका कार्यालय रहेको कोल र तकसेरा मध्येमा कहाँ कार्यालय राख्ने भन्ने बारेमा टुंगो लगाउन गरिएको मतदानमा तकसेराको पक्षमा बहुमत आयो । 

गाउँसभाका ४७ जना सदस्यले तकसेराको पक्षमा मतदान गरे भने कोलको पक्षमा २२ जना सदस्यको मात्र मत परेको थियो । गाउँपालिकाको केन्द्रका लागि गाउँसभाका ६९ जना सदस्यले मतदानमा भाग लिएकाथिए । 

गाउँसभा कुल ७४ सदस्यीय रहेकामा तीनजना सदस्य जिल्ला समन्वय समितिमा निर्वाचित भएका छन् । एक जना सदस्यको मृत्यु भएको थियो भने अध्यक्ष ओमप्रकाश घर्ती आफू मतदानमा सहभागी भएनन् । 

त्यसपछि उक्त निर्णय गाउँपालिकाले प्रदेश सरकारमा पठायो र प्रदेशले अनुमोदन गरी संघमा । संघले पनि त्यसलाई अनुमोदन गरेपछि करिब एक साताअघि उक्त निर्णय राजपत्रमा प्रकाशित भैसकेको छ । 

तर गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती भने कार्यालय तकसेरामा सार्ने निर्णय भएको दिनदेखि गाउँपालिका कार्यालयमा आएका छैनन् । जानकारी अनुसार, आफुप्रति दुव्र्यवहार भएको, असुरक्षा बढेको तथा कोलबाट कार्यालय सार्ने निर्णय भैसकेपछि यो ठाउँ कार्यालय संचालनका लागि अवैधानिक भैसकेको जस्ता कारण देखाउँदै गाउँपालिका अध्यक्ष कार्यालयमा नआएका हुन् । 

‘सिंगो गाउँसभामा भएको मतदानबाट गाउँपालिकाको कार्यालय तकसेरामा सार्ने पक्षमा बहुमत आएको हो, गाउँपालिका अध्यक्ष घर्तीले भन्नुभयो, तर कोलबासीले मैले नै कार्यालय सार्ने निर्णय गरेको जस्तो गरी दुव्र्यवहार गरे, मैले असुरक्षा महसुुस गरेँ र अहिले सम्म कार्यालयमा उपस्थित भएको छैन ।’ कार्यालय तकसेरामा नगएसम्म आफू कार्यालयमा उपस्थित नहुने उहाँको भनाई छ । 

अरु त अरु गाउँपालिका अध्यक्ष घर्तीले कार्यपालिका बैठक समेत छुट्टै ठाउँमा बसालेको बताइएको छ । 

गाउँपालिका अध्यक्ष नै कार्यालयमा उपस्थित हुन छाडेपछि सेवाप्रवाहमा समस्या देखिएको छ । अध्यक्षले गर्नुपर्ने सम्पूर्ण कामकाज लगभग ठप्पजस्तै अवस्थामा रहेको कर्मचारीहरुको भनाइ छ । उपाध्यक्षसहित अन्य जनप्रतिनिधिहरु भने कार्यालय आउने गरेका छन् । 

अध्यक्षलाई असुरक्षा भएको कुनै जानकारी छैन – प्रजिअ

असुरक्षाको कारण देखाउँदै गाउँपालिकाको कार्यालयमा अध्यक्ष नगएको विषयमा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले त्यस्तो कुनै खबर नआएको बताउनुभयो । 

‘स्थानीय सरकार प्रमुखलाई कहिकतैबाट असुरक्षा भएको सूचना हामीसँग आएको छैन’, प्रजिअ शर्माले भन्नुभयो, ‘अध्यक्ष ज्यू र हाम्रो नियमित भेटघाट छलफल भइरहन्छ, मसँग त्यस्तो कुनै कुरा भएन ।

उहाँले शुक्रबार तकसेरामा गाउँपालिका कार्यालय उद्घाटन गर्ने तयारी भएको खबर पाएको जनाउनुभयो । 

शुक्रबार तकसेरामा कार्यालय उद्घाटन गर्ने तयारी 

कोलबाट गाउँपालिका कार्यालय तकसेरामा सार्ने निर्णय भैसके पनि लामो समयसम्म कार्यालय नसारिँदा गाउँपालिकावासीमा अन्योल थपिएको छ । 

अब यो अन्योलको छिट्टै अन्त्यहुने गाउँपालिकाले जनाएको छ । पुस २७ गते कार्यालय उद्घाटन गर्ने तयारी भैरहेको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । सम्पूर्ण प्रक्रिया पूरा हुँदासम्म पर्खिँदा कार्यालय उद्घाटनमा ढिलाइ भएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया