चिनी उद्योगले नयाँ मूल्यमा किन्न थालेपछि किसानलाई उखु काट्ने चटारो

 पुस २६, २०७५ बिहिबार १४:४२:२२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सरकारले निर्धारण गरेको मूल्यमा उखु किन्न चिनी उद्योगीहरु सहमत भएपछि किसानलाई  यति बेला उखु काट्ने चटारो छ । 

बुधबार बर्दिवासमा  सम्पन्न किसान अगुुवा र उद्योगीबीच भएको चार बुँदे  लिखित सहमतिपछि लामो समयदेखिको मूल्य निर्धारणको विवाद टुंगिएको छ । गएको साता सरकारले आर्थिक वर्ष २०७५-०७६ का लागि उखुको न्यूनतम खरिद  मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ २८ पैसा कायम गरेको थियो । तर उद्योगले यो मूल्य अस्वाभाविक भएको भन्दै कारखाना नचलाउने अडान राखेको थियो । 

किसान प्रतिनिधि र उद्योग पक्षबीच भएको वार्तामा कारखानाले उत्पादन गरेको चिनी बिक्री नभए सरकारलाई खरिद गर्न आग्रह गर्ने, चिनी धितो राखेर उद्योगलाई ऋण उपलब्ध गराउन बैंकलाई आग्रह गर्ने, उखु खरिद गरेको ४५ दिनभित्र उखुको भुक्तानी गर्ने र तत्कालै मिल सञ्चालन गर्ने दुई पक्षीयबीच  सहमति भएको नपाल उखु उत्पादक महासंघ अध्यक्ष कपिलमुनि  मैनालीले  बताउनुभयो ।   

सहमतिअनुसार सर्लाहीमा रहेको इन्दु शकर चिनी कारखानाले पुस ३० गतेबाट उखु क्रसिङ थाल्ने कारखानाका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । त्यस्तै महोत्तरीको रामनगरमा रहेको एभरेष्ट सुगर मिलले  २९ पुसबाट क्रसिङ गर्न सुरु गर्ने  कारखानाका महाप्रबन्धक युगलकिशोर चौरसियाले जानकारी दिनुभयो । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल बगदहले कहिलेबाट क्रसिङ थाल्ने  यकिन  भएको छैन ।

अन्नपूर्ण सुगर मिलले गएको वर्षको करिब ३५ करोड भन्दा बढी रकम किसानको भुक्तानी गर्न बाँकी रहेको छ । त्यस्तै बगदहमा रहेको महालक्ष्मी सुगर मिलले यसै वर्षबाट क्रसिङ सुरु गर्ने जानएको छ । क्रसिङ सिजनभन्दा करिब डेढ महिना ढिलो गरी  चिनी कारखानाले उखु क्रसिङ गर्ने भएपछि उखु काटन मजदुरको समस्या पर्ने थालेको छ । सबै किसानले  यसरी एकैपटक उखु काटन थाल्दा उखु सुक्ने र चिनी उत्पादनमा समेत कमी हुने भएपछि त्यसोगरी उखु नकाट्न उद्योगले किसानलाई आग्रह गरेको छ ।  

सर्लाहीमा उत्पादन भएको उखु हरिवनको ईन्दुशंकर चिनी काखाना, महोत्तरीको एभरेष्ट सुगर मिल, सर्लाही धनकौलमा रहेको अन्नपूर्ण सुगर मिल, बाराको मानकौर सुगर मिल र रौतहटको श्रीराम सुगर मिलले खरिद गर्दै आएको थियो ।  विगतका वर्षमा समयमै चिनी मिल सञ्चालन भएकाले किसानलाई केही हदसम्म  उखु बिक्री गर्न सहज भएको  थियो । तर यस वर्ष धनकौलमा रहेको अन्नपूर्ण सुगर मिल र रौतहटको श्रीराम सुगर मिल सञ्चालन अन्यौल भएकाले उखु बिक्री गर्न निकै समस्या पर्ने  मानपुरका किसान रामबिशुवास रायले गुनासो गर्नुभयो ।

गएको वर्षको तुलानामा यस वर्ष करिब ३१ प्रतिशत उखु खेती बढी भएकाले सबै उखु क्रसिङ गरेर सक्न करिब तीन महिना भन्दा बढी समय  लाग्ने अनुमान गरिएको छ । गएको वर्ष इन्दुशंकर चिनी कारखानाले ४२ लाख क्विन्टल, एभरेष्ट सुगर मिल  महोत्तरीले ४५ लाख क्विन्टल, अन्नपूर्ण सुगर मिल धनकौलले १८ लाख क्विन्टल र श्रीराम सुगर मिलले करिब १२ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो ।

गएको वर्ष चिनी कारखानाहरुले भारतीय किसानको उखु बिचौलियामार्फत खरिद गरेर सस्तो मूल्यमा  क्रसिङ गरेका थिए । यस वर्ष पनि केही बिचौलिया भारतीय किसानसँग सस्तो मूल्यमा उखु खरिद गरेर बिक्री गर्न योजनामा लागेको किसानले बताएका छन् ।  

समयमै चिनी कारखाना सञ्चालन नभएपछि केही किसानले सस्तो मूल्यमा कोलु क्रसरलाई उखु बिक्री गरेका छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया