भक्तपुरमा महिला राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु

 पुस २६, २०७५ बिहिबार १६:२३:११ | उज्यालो सहकर्मी

भक्तपुर – भक्तपुरमा शुक्रबारबाट पहिलो पटक राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता–२०७५ सुरु भएको छ । 

प्रतियोगिताको पहिलो दिन बुधबार भक्तपुर र नवलपरासी, शसस्त्र प्रहरी र काडमाडाैं, कैलाली र नेपाल प्रहरी, शसस्त्र प्रहरी र भक्तपुर, नवलपरासी र कैलाली, काठमाण्डौ र नेपाल प्रहरीबीच खेल भएको छ । 

प्रतियोगितामा भक्तपुर, काठमाण्डौं, नवलपरासी, कैलाली, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतका बिभिन्न ठाउँबाट सहभागी भएका खेलाडीहरुबीच १५ वटा खेल संचालन हुने कार्यक्रममा संयोजक एवं समितिका अध्यक्ष पशुपति प्रजापतिले जानकारी दिनुभयो । 

सुपर लिग चरणमा खेलाइने प्रतियोगितामा प्रथम, द्वितीय हुने टिमलाई क्रमश नगद रु. ५० हजार, ३० हजार र तृतिय हुने दुईवटा टिमलाई १०–१० हजारका दरले नगद पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गरिने समितिका सदस्य कृष्णसुन्दर प्रजापतिले जानकारी दिनुभयो । 

कूल १६ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा देशमै पहिलो पटक प्रत्येक खेलमा म्यान अफ दि म्याच, बेष्ट रेर्डर र बेष्ट क्याप्चर घोषणा गरी प्रत्येक खेलाडीलाई २ हजार रुपैयाँका दरले ६० हजार रुपैयाँको पुरस्कार प्रदान गरिने सदस्य प्रजापतिले जानकारी दिनुभयो । 

भक्तपुर नगरपालिका ४ नम्बर वडा खेलकुद समितिले भक्तपुरको शहिद स्मृति खेल मैदानमा आयोजना गरेको प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले भक्तपुर नगरपालिकाले खेलकुदको विकासमा टेवा पुर्याउने कार्य गर्दै खेलकुदमैत्री नगरपालिका बनाउन लागिपरेको बताउनुभयो । 

कार्यक्रममा कबड्डी संघका केन्द्रीय उपाध्यक्ष संगीता हमाल, वडा नं. ४ का वडा अध्यक्ष कुमार चौवाल, कबड्डीका अन्तर्राष्ट्रिय रेफ्री विनोद प्रजापति लगायतले पछिल्लो समयमा भक्तपुरमा कबड्डी खेलको विकासमा फड्को मारेको बताउँदै भक्तपुरमा यो खेलको आकर्षण पनि बढेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया