तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकप: बुधबारकाे खेलमा च्यासल र नेपाल पुलिस क्लब विजयी

 पुस २६, २०७५ बिहिबार १८:९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

धनगढी – तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बुधबारको खेलमा भ्याली च्यासल युवा क्लबले दिल्ली फुटबल क्लबलाई र नेपाल पुलिस क्लबले 
मोरङ फुटबल क्लबलाई पराजित गरेका छन् ।

च्यासलले  दिल्ली फुटबल क्लबलाई ६–० तथा नेपाल पुलिस क्लबले ३–० गोल अन्तरले पराजित गरेका हुन् । च्यासलको जितमा विदेशी खेलाडी अर्मान्ड मोएनले ह्याट्रिक गरेका थिए ।

बिहीबार धनगढी रंगशालामा च्यासलले खेलको १४ औं मिनेटमा अग्रता लिएको थियो । एल्भीसको पासमा सन्जोग राईले सहजै गोल गर्दै च्यासललाई अगाडि बढाए । ३१ औं मिनेटमा हेमन्त थापामगरले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको भित्री भागमा लाग्दै गोलमा परिणत भयो । 

४० औं मिनेटमा सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै अर्मान्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक मन्दिपले बचाउन सकेनन् ।
दोस्रो हाफको ६१ औं मिनेटमा अर्मान्ड मोएनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई ४–० ले अगाडि बढाए । ७३ औं मिनेटमा अर्मान्डले गरेको फितलो प्रहार गोलरक्षकले रोक्न नसक्दा च्यासल ५–० ले अगाडि बढ्यो । 

इन्ज्युरी समयको पहिलो मिनेटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को जित दिलाए । खेलको ’म्यान अफ द म्याच’ बनेका अर्मान्डले १० हजार रुपैयाँ प्राप्त गरे।

यस जितसँगै च्यासलले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । 

च्यासलले अब रुस्लान थ्रीस्टारको सामना गर्नेछ । विजयी टोलीका प्रशिक्षक राजुकाजी शाक्यले नयाँ मैदान भए पनि डेब्यु गरेका फरवार्डले उत्कृष्ट प्रदर्शन गरेपछि जित सम्भव भएको बताए । 

पराजित टोलीका प्रशिक्षक बिएस मेहेराले पहिलो रोजाईका ६ खेलाडी भारतमा व्यस्त भएको हुँदा सोचेअनुरुप खेल्न नसकेको बताए ।

बुधबारको अर्को खेलमा नेपाल पुलिस क्लबले तीर्थ रानाको गोलमा अग्रता बनायो । उनले सातौं मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई मोरङका गोलरक्षक सन्तोष योन्जनले बचाउन सकेनन् ।

 ३५ औं मिनेटमा अभिषेक रिजालको उत्कृष्ट मुभमा तीर्थले पुलिसको अग्रता दोब्बर पारे । 
दोस्रो हाफको इन्जुरी समयमा अभिषेक रिजालको पासमा तिर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।


पराजित टोलीका प्रशिक्षक संजिव बुढाथोकीले बलियो पुलिसविरुद्ध आफ्ना युवा खेलाडीले डटेर खेल्न नसकेको बताए । पुलिसका प्रशिक्षक अनन्त थापाले मैदान केही नयाँ भएकोले सेट हुन समय लागेपनि नतिजा हात पार्दा खुसी रहेको बताए ।

पुलिसले अब पुष २९ गते हुने क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दीको सामना गर्नेछ । शुक्रबार हुने खेलमा रुपन्देहीको गोर्खा ब्वाइजले काठमाडौंको सीएमजी क्लब संकटाको सामना गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया