उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

 पुस २७, २०७५ शुक्रबार ६:३३:५४ | रासस
unn.prixa.net

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ ।

बहादुरभवनकाे कार्यालयमा भएको भेटमा उपराष्ट्रपति पुनले नेपाल–चीन सम्बन्ध औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि निकै लामो सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र अत्यन्त प्रगाढ रहेको बताउनुभयो । उहाँले नेपालका लागि चीनका नयाँ राजदूत याङछीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो । “एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ,” उहाँले भन्नुभयो, “चीनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई समर्थन गरेको छ । नेपाल पनि आफ्नो भूमिमा चीन विरोधी क्रियाकलाप हुन दिने छैन ।”

उपराष्ट्रतिले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभयो । उहाँले नेपालको समृद्धिमा चीनको साथ सहयोग रहनेमा विश्वस्त रहेको बताउनुभयो । उपराष्ट्रपतिले नेपाल चीनसँग छिट्टै रेलमार्गबाट जोडिन चाहेको बताउनुभयो ।

“हामी चीनबाट प्रविधिको आयात गर्न चाहन्छौँ । रेल्वेद्वारा जोडिन चाहन्छौँ”, उहाँले भन्नुभयो, “हामी कम्तीमा सात वटा उत्तर दक्षिण राजमार्गद्वारा चीनसित जोडिन चाहन्छौँ । हामी विकासको लागि भौतिक पूर्वाधारहरु निर्माण गर्न चाहन्छौँ ।”

याे अवसरमा चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त घनिष्ठ रहेको बताउनुभयो । उहाँले आफू नेपाल आएको छोटो समयमै नेपालले चीनलाई उच्च प्राथमिकतामा राखेको पाएको बताउनुभयो । “नेपाल आएको दश दिनभित्र मैले उच्च नेतृत्वसँग भेटघाट गर्न पाएँ । अरू देशमा यति सहज हुँदैन”, उहाँले भन्नुभयो, “हामी कति घनिष्ठ छौँ भन्ने यसले देखाउँछ ।” 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया