अबको केही वर्षभित्रै सप्तरीको मुहार फेरिन्छ : उप–प्रधानमन्त्री यादव

 पुस २७, २०७५ शुक्रबार ७:५८:४१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – राजविराजमा रहेको गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा एनआईसीयू सेवा शुभारम्भसँगै ३१ करोडको लागतमा सुविधा सम्पन्न अस्पताल भवन निर्माणको शिलान्यास भएको छ । 

उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एक समारोहकाबीच अस्पतालमा एनआईसीयू सेवाको शुभारम्भ तथा भवनको सिलान्यास गर्नुभएको हो । अस्पताल परिसरमा आयोजित कार्यक्रममा बोल्दै यादवले अबको चार वर्ष्नभित्रै सप्तरीमा आमूल परिवर्तन हुने दाबी गर्दै विकास निर्माणसम्बधी कामहरुमा एकमत भएर सहयोग गर्न समेत आग्रह गर्नुभयो । जिल्लामा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा मेडिकल कलेज स्थापना, नर्सिङ्ग कलेज, तीन सय शैय्याको सुविधासम्पन्न अस्पतालसहित स्वास्थ्य चौकीहरुको समेत स्तरोन्नति हुने उहाँले बताउनुभयो ।

सप्तरीको विकासकालागि कनेक्टिभिटी आवश्यक रहेको भन्दै पहाडको फेददेखि सिधा भारतको एनएचसँग सम्पर्क हुने गरी नयाँ सडक सञ्जाल विस्तार गर्न लागेको पनि उहाँले खुलासा गर्नुभयो । अबको केही वर्षपछि सप्तरी देशमै समृद्ध एवम् नमूना जिल्लाको रुपमा विकसित हुने मन्त्री यादवले दाबी गर्नुभयो।

कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राइनले सप्तरीलाई आफूले प्राथमिकतामा राखेको भन्दै गुणस्तरीय रुपमा काम सम्पन्न गर्न मातहतका निकाय प्रमुखहरुलाई निर्देशन पनि दिनुभयो । 

स्वास्थ्य मन्त्रालयको कुल ३१ करोड ६ लाख २० हजार १४७ रुपैयाँको लागतमा अस्पताल भवन निर्माण सुरु भएको हो । भवन निर्माणको ठेक्का काठमाडौंको कन्टेक÷जेयी जेभिले लिएको छ । गएको पुष १६ गते भएको सम्झौता अनुसार भवन निर्माणको काम २०७८ असार १५ गतेभित्र सम्पन्न गरिसक्नु पर्नेछ । तीन तले सुविधासम्पन्न भवनवाट रेडियोलोजी, प्याथोलोजी, मेडिसिन, सर्जरी, गाइनो, आईसीयू÷एनआईसीयू, डायलाइसिस, इमर्जेन्सीलगायतका सेवा सञ्चालन हुनेछ ।

यसैबीच उपप्रधानमन्त्री यादवले सप्तरीमा निर्माण हुन लागेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि जग्गा निरीक्षण पनि गर्नुभएको छ । राजविराज नगरपालिकाले प्रतिष्ठान स्थापनाका लागि वडा नम्बर १० बिरौल चोकमा ६२ बिघा जग्गा उपलब्ध गराएको छ । मन्त्रीपरिषद्को गएको सोमबार बसेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया