कारागारमै मासिक १५ हजार कमाउँछन् कैदीबन्दी

 पुस २७, २०७५ शुक्रबार ९:४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले कारागारभित्रै विभिन्न उद्यम गरेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । कैदीबन्दीले कारागार भित्रै कमाएर आफ्ना लागि लत्ता कपडा र टेलिफोन खर्च मात्रै हैन, घर खर्चसमेत पठाउने गरेका छन् । 

कैदीबन्दीले ढाकाका टोपी, चोया र बेतबाँसका सामाग्री तथा मुढा बुनेर आम्दानी गर्दै आएका छन् । कारागारबाट कैदीबन्दीले मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको नाइके विवेक लिम्बुले बताउनुभयो ।

कैदीबन्दीले ढाकाका टोपीमात्रै मासिक ७ सय वटा बढी बुनेर बिक्री गर्ने गरेका छन् । कैदीले बुनेका टोपीलगायत सामाग्रीहरु कार्यालय सहयोगीमार्फत बजारसम्म पुर्‍याउने र बिक्री गरेर ल्याइदिने व्यवस्था गरिएको जेलर प्रभात घिमिरेले बताउनुभयो । कैदीले बुनेका टोपी प्रतिओटा २ सयदेखि ५ सय रुपैयाँसम्ममा किनबेच हुने गरेको छ ।

साँघुरो कारागार भवनमा एकसाथ ३५ जना बढी कैदीबन्दीले ढाका टोपी बुन्ने तान लगाएका छन् । कारागारमा अहिले ८५ जना पुरुष र ५ जना महिला कैदीबन्दी र थुनुवा रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया