दाङमा प्रदेशस्तरीय दुई दिने माघी महोत्सवकाे राैनक

 पुस २७, २०७५ शुक्रबार १२:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – थारुहरुको महान पर्व माघीको अवसरमा बिहीबारदेखि दाङको घोराहीमा प्रदेशस्तरीय माघ महोत्सव सुरु भएको छ । ‘सांस्कृतिक विकासको लागि हमार अभियान, सामाजिक न्यायसहितक समृद्धिम हमार योगदान’ भन्ने मुल नाराका साथ प्रदेशस्तरीय माघ महोत्सव–२०७५ सुरु भएको हो ।

महोत्सवमा प्रदेश पाँच अन्तरर्गतका थारु समुदायको बाक्लो बसोवास रहेको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियालगायत कर्णाली प्रदेशको सुर्खेत साथै प्रदेश ७ को कैलाली र कञ्चनपुर जिल्लाको टिम सहभागिता रहेको छ ।

थारु परम्परागत संस्कृति, नाचगान कला एवं भेषभुषा संरक्षण तथा विकास गर्ने, थारु परम्परागत गीतबाँस, लोकगीतको प्रचार÷प्रसार तथा विकास गर्ने, संस्कृति संरक्षण तथा विकासमा थारु कलाकारहरुलाई हौसाउने महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक भुवन चौधरीले जानकारी दिनुभयो ।

युवाहरुलाई थारु लोक संस्कृतितर्फ आकर्षित गर्ने, थारु परम्परागत परिकारको प्रचार/प्रसार गर्ने, थारु भाषा र साहित्यको विकासमा टेवा पुर्‍याउने, बालश्रम तथा कमैया÷कमलरी प्रथा विरुद्ध जागरण गर्ने महोत्सवको उद्देश्य भएको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रदेश पाँचका प्रतिनिधिमुलक नाचहरु प्रस्तुत गर्ने, पुस्तक प्रदर्शनी, थारु परम्परागत परिकारको प्रदर्शनी तथा बिक्री वितरण गर्ने, थारु कला संस्कृतिको प्रदर्शनी गर्ने, कलाकारहरु तथा साहित्यकारवाट कला/साहित्य प्रस्तुतिको कार्यक्रम, थारु भाषा र साहित्यको विकासमा राज्यको नीति तथा कार्यक्रम सम्बन्धमा कार्यशाला संचालन गर्ने आयोजकले जनाएको छ । थारुहरुले माघीलाई विशेष धुमधामले मनाउने गर्दछन् । माघीलाई उनीहरुले नयाँ वर्षका रुपमा लिएर मनाउँछन् ।

 प्रदेश ५ को साझा पर्व माघी : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले माघी पर्व प्रदेश पाँचको साझा पर्व भएको बताउनुुभएको छ । घोराहीमा प्रादेशिक माघ महोत्सव २०७५ को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले माघी पर्व थारु समुदाय, मगर समुदायको मात्र नभई सबै नेपालीको पर्व भएको बताउनुुभयो । माघ पर्व साझा पर्व भएकाले प्रदेश सरकारले माघ १ र २ गते बिदा दिने निर्णय गरेको उहाँले बताउनुुभयो ।

मुख्यमन्त्री पोखरेलले थारु समुदाय भाषिक, सांस्कृतिक हिसाबले सम्पन्न रहेको भन्दै थारु समुदाय सीपमा धनी रहेको पनि बताउनुुभयो । उहाँले थारु समुदाय आफ्नै सिपबाट बाँचेको समुदाय भएको बताउनुुभयो । थारु समुदायको सीपलाई कसरी जोगाउने, कसरी व्यवसायीकरण गर्ने भन्नेमा ध्यान दिनुपर्ने भन्दै उहाँले थारु समुदायको संस्कृतिलाई संरक्षण गर्ने र  पर्यटकहरुलाइ देखाउनेगरी विकास गर्नुपर्ने बताउनुुभयो ।

माघ महोत्सवको मुख्यमन्त्री शंकर पोखरेलले चामल, नुन, मासलाई एक ठाउँमा जम्मा गरेर नेकपाका सचेतक शान्ता चौधरी, प्रतिनिधिसभा सदस्य गंगा थारु र कार्यक्रम सञ्चालिका विष्णु कुसुमलाई निसराउ दिएर कार्यक्रम उद्घाटन गर्नुुभएको थियो । 

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया