अहिलेसम्मकै सबैभन्दा ठूलाे टेलिभिजन ‘द वाल’ सार्वजनिक, आकार १४६ इञ्च

 पुस २७, २०७५ शुक्रबार १६:१३:५४ | एजेन्सी
unn.prixa.net

काेरियाकाे सामसङ कम्पनीले हालै विश्वकै सबैभन्दा ठूलो आकारको टेलिभिजन सार्वजनिक गरेकाे छ ।

द वाल नाम दिइएको यो टेलिभिजन १४६ इञ्चको छ । यसको आकारमात्र ठूलो नभइ यसको डिस्प्ले पनि नयाँ प्रविधिको नै छ । यस प्रविधिको नाम माइक्रो एलईडी हो । सामसङका अनुसार माइक्रो एलईडी प्रविधि अब भविष्यमा आउने टेलिभिजन स्क्रीनको ‘मुटु’ नै सावित हुनेछ । 

यसअघि सन् २०१३ मा सामसङले नै ११० इञ्चको टेलिभिजन सार्वजनिक गरेको थियो जुन अहिलेसम्मकै सबैभन्दा ठूलाे आकारकाे टेलिभिजन थियाे ।

सामसङले यत्तिकै यो टेलिभिजनलाई द वाल नाम दिएको होइन । यसको पछाडि विशेष कारण रहेको छ ।

१४६ इञ्च भनेको हालसम्म विश्वमा उपलब्ध भएका मध्ये अधिकांशका घरमा हुने ठूला टेलिभिजन सेटको दोब्बर नै ठूलो हो भन्दा फरक नपर्ला । धेरैका घरमा बढीमा ५५-६५ इञ्चसम्मका टेलिभिजन हुन सक्छन् । होइन भने २१ देखि २३ २९ ३२ ३९ ४२ ४३ ४८ हुँदै ४९ इञ्चसम्मका टेलिभिजनहरु मानिसहरुका घरमा पाइन्छन् ।

बजारमा भने अन्य कम्पनीकासहित गरेर ८५ इञ्चसम्मका टेलिभिजन उपलब्ध हुने गरेका छन् ।

कोरियाली कम्पनीले निकालेको यो टेलिभिजनमा प्रयोग भएको डिस्प्ले नयाँ प्रविधिको भएको आवश्यकताअनुसार आकार घटबढ गर्न सकिने भएकाले कम्पनीले यसलाई मोड्युलर माइक्रो एलईडी भन्ने नाम दिएको बताइएको छ ।

के हो मोड्युलर माइक्रो एलईडी?

मोड्युलर माइक्रो एलईडी भन्नाले आफैमा प्रकाश दिनसक्ने एकदमै स–साना आकारका एलईडीका माध्यमबाट डिस्प्लेमा प्रकाश आइरहने भन्ने बुझाउँछ ।

यी एलईडीहरु अहिलेका डिस्प्लेमा प्रयोग भएका एलईडीहरुभन्दा धेरै साना आकारका हुन्छन् र यीनिहरुले डिस्प्लेको पछाडि भागमा रहेर निरन्तर प्रकाश दिइराख्छन् । मोड्युलरको अर्थ भने क्रेताले आफ्नो आवश्यकता अनुसार यो डिस्प्लेलाई कष्टोमाइज गर्न सक्छन् भन्ने हाे । 

सामसङ कम्पनीका अनुसार राख्ने ठाउँको आवश्यकता हेरी यसको साइज सानो वा ठूलो बनाउन सकिन्छ ।

१४६ इञ्चको टेलिभिजन बनाएर सार्वजनिक गरे पनि कम्पनीले यसको मूल्य र सर्वसाधारणको लागि उपलब्ध गराउने मिति भने तोकिसकेको छैन । 

मूल्य नतोकिए पनि यसमा प्रयोग भएको प्रविधि र आकारलाई हेर्दा यसको मूल्य अहिले चलनचल्तीमा रहेका ठूला आकारका टेलिभिजनभन्दा निक्कै बढी हुने अनुमान गर्न सकिन्छ ।

आउँदो मार्च महिनामा सामसङले गर्ने पत्रकार सम्मेलनमा यस टेलिभिजनका बारेमा थप जानकारी दिइने बताइएको छ ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया