दीपकराज जोशीले न्यायको मन्दिरमा बलिरहेको दीप निभाएकाले इजलासबाट हटाएँ : प्रधानन्यायाधीश राणा

 पुस २७, २०७५ शुक्रबार १७:२३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायको बाटो छाडेकाले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई संवैधानिक इजलासबाट हटाउनु परेको बताउनु भएको छ । 

बहालवाला वरिष्ठ न्यायाधीश जोशीलाई कामको जिम्मेवारीबाट हटाउने काम गरिएको भन्दै नेपाल बार एसोसिएशनले प्रश्न उठाइरहेका बेला प्रधानन्यायाधीश जबराले न्यायको बाटो छोडेर कुबाटोमा लागेकाले जोशीलाई संवैधानिक इजलासबाट हटाउनु परेको स्पष्टिकरण दिनु भएको हो ।

‘जो मान्छे न्यायको विवेकलाई,  न्यायको आचरणलाई कायम राख्न सक्दैन, त्यस्ता व्यक्तिलाई प्रधानन्यायाधीशको रुपमा आफूले घर फर्काउन सक्ने अवस्था नरहेको’ प्रधानन्यायाधीश जबराको भनाई छ । शुक्रबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले वरिष्ठ न्यायाधीश जोशीले ‘न्यायको मन्दिरमा बलिरहेको दीपलाई निभाउने क्रियाकलाप गरेको’ आरोप पनि लगाउनु भयो ।

गएको बिहीबार प्रधानन्यायाधीश जबराको अध्यक्षतामा  बसेको न्याय परिषदको बैठकले वरिष्ठ न्यायाधीश जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय गरेको थियो । त्यसप्रति नेपाल बार एसोसिएशनको आपत्ति छ । कार्यक्रममा बोल्दै बारका अध्यक्ष शेरबहादुर केसीले बहालवाला न्यायाधीश जोशीलाई किन जिम्मेवारी नदिएर गलत काम गरेको भन्दै तत्काल सच्याउन प्रधानन्यायाधीश जबरासँग माग गर्नुभयो ।

उहाँले जोशीलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गराउने प्रयास भएकोमा आपत्ति जनाउँदै तत्काल नसच्याए त्यो गलत काम हुने र त्यसले प्रधानन्यायाधीश जबरालाई पश्चातापबाहेक अरु केही नदिने दाबी पनि गर्नुभयो ।

यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपाल बार एसोसिएशनले जोशीलाई संवैधानिक इजलासबाट हटाउने न्याय परिषदको अधिकारमाथि धावा बोलेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सर्वोच्च अदालतका न्यायाधीशलाई इजलास तोक्ने अधिकार प्रधानन्यायाधीशलाई रहेको उल्लेख गर्दै त्यसमाथि प्रश्न उठाउन नपाउने तर्क पनि गर्नुभयो ।

मन्त्री ढकालले जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय सही भएको उल्लेख गर्दै त्यसमा बहस गर्न आफू पनि तयार रहेको स्पष्ट पार्नुभयो ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया