संसारकै महंगो डिभोर्स !

 पुस २७, २०७५ शुक्रबार १७:२७:३६ | एजेन्सी
unn.prixa.net

संसारकै सबैभन्दा धनी व्यक्ति तथा अमेजन कम्पनीका मालिक जेफ बेजोसले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् । उनले आफ्नी श्रीमती मेकेन्जी बेजोससँगको पच्चीस वर्षे सम्बन्धमा पूर्णविराम लगाएका छन्, अर्थात डिभोर्स दिएका छन् ।

डिभोर्सपछि जेफले मेकेन्जी बेजोसलाई दिएको रकमको हिसाब गर्दा यसलाई दुनियाँकै सबैभन्दा महंगो सम्बन्ध बिच्छेद भएको मानिएको छ ।

जेफसँगको सम्बन्धबाट तीन छोरा र एक छोरी जन्माइसकेकी मेकेन्जीले डिभोर्सपछि जेफबाट झण्डै ६० अर्ब अमेरिकी डलर प्राप्त गर्ने भएकी छिन् । २५ वर्षदेखि उनीहरु सँगै थिए अर्थात उनीहरु दुईटै मिलेर नै अमेजन कम्पनीको स्थापना गरेका हुन् । 

उनीहरु बस्दै आएको वाशिंगटन राज्यको एउटा अदालतको फैसलापछि बेजोसको कुल सम्पत्ति दुई हिस्सामा बाँडिने छ र एक हिस्सा मेकेन्जीले प्र्राप्त गर्नेछिन् । अहिले बेजोससँग भएको कुल १ सय ३७ अर्ब अमेरिकी डलरमध्ये ६० अर्ब अमेरिकी डलर मेकेन्जीको खातामा जानेछ । उक्त रकम प्राप्त गरेपछि मेकन्जी दुनियाँकै सबैभन्दा धनी महिला बन्ने पक्का छ ।

उनीहरुले एउटा कार्यक्रममा संयुक्त अभिव्यक्ति दिँदै भनेका छन्, ‘हामीहरु २५ वर्षको सम्बन्धलाई अन्त्य गर्ने घोषणा गर्दै, आगामी दिनहरुमा आत्मिय साथीको रुपमा रहने निर्णय गरेका छौँ ।’ 

यो डिभोर्सपछि उनीहरुले स्थापना गरेको कम्पनीमा केही परिवर्तन ल्याउने अनुमान गरिएको छ । यसले गर्दा विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीबाट जेफ पछि पर्नेछन् । यो डिभोर्सपछि जेफ माइक्रोसफ्टका को–फाउण्डर बिल गेट्सको बराबरीमा आइपुग्नेछन् ।  बिल गेट्ससँग अहिले ९५ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको छ ।

बेजोस दम्पतीले आफूहरु अलग्गिनुको कारण भने खुलासा पारेका छैनन् । तर पनि सम्बन्ध विच्छेदपछि पनि आफूहरु असल साथी रहने भने बताएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया