राष्ट्रिय खेलकुद हुने स्थलमा संसदीय समितिको अनुगमन

 पुस २७, २०७५ शुक्रबार १९:४२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – संसदको शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद समितिको उच्च स्तरीय टोलीले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि निर्माणाधीन भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएको छ ।

समितिका सभापति जयपुरी घर्तीको नेतृत्वमा रहेको संसदीय टोलीले शुक्रबार बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा र बर्दियाको बासगढी, भुरी गाउँलगायतका स्थानमा भइरहेका निर्माणाधीन भौतिक संरचनाबारे शुक्रबार स्थलगत अनूगमन गरी जानकारी लिएको हो ।

८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो माघ २५ देखि फागुन ३ गते तोकिएको छ । भौतिक पूर्वाधारको निर्माण कार्य पूरा नहुने भन्दै प्रतियोगिताको मिति सारेर फागुनमै सम्पन्न गर्ने राष्ट्रिय खेलकुद परिषदको तयारी छ ।

संसदीय समितिलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीलगायतले निर्माण अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

भौतिक संरचनाको निर्माणमा ढिलाई हुँदा तोकिएको मितिमा प्रतियोगिता नहुने निश्चित भईसकेपनि संसदीय समितिले निर्माणको अवस्थाबारे सन्तुष्टी जनाएको क्षेत्रीय अध्यक्ष वलीले बताउनुभयो ।

समितिको टोलीमा समितिको युवा तथा खेलकुद उपसमितिका संयोजक जीवनराम श्रेष्ठसहित  सुरेश राई, गजेन्द्र महत, रेखाकुमारी झालगायत सहभागी हुनुभएको थियो । यसैबीच राष्ट्रिय खेलकुदको तयारी अन्तर्गत शुक्रबारदेखि प्रशिक्षक तालिम नेपालगञ्जमा सुरु भएको छ । तालिममा ५० जनाको सहभागिता रहेको छ । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया