वैकल्पिक पार्टी निमार्णमा उज्ज्वल थापाहरुबाट धोका भयो : प्रवक्ता आचार्य

 पुस २७, २०७५ शुक्रबार १९:५१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी  फुटेको छ । 

पार्टीका एक संयोजक उज्ज्वल  थापालगायतले  नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  निर्वाचन आयोगका  प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव  गरिएको छ ।

विवेकशील साझा पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले भने पार्टीमा उत्पन्न पछिल्लो घटनाक्रमले आफूहरु आश्चर्यमा परेको बताउनुभयो । 

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आचार्यले भन्नुभयो, ‘विवेकशील साझा पार्टीका ३८ जना केन्द्रीय सदस्यहरुमध्ये केही केन्द्रीय सदस्यहरुलाई लिएर संयोजक उज्ज्वलबहादुर थापाले आज निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिनुभएको खबरले हामीलाई आश्चर्यचकित पारेको छ ।’

प्रवक्ता आचार्यले विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील भएको जानकारी दिनु भएको छ ।

पार्टीभित्र कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नता भए पनि नागरिकले आशा र विश्वासका साथ हेरेको विवेकशील साझा पार्टीमा यस्तो परिस्थिति आउनु दूर्भाग्यपूर्ण भएको आचार्यले स्पष्ट पार्नुभयो । 

साथै पार्टीमा रहेको मतभिन्नताहरुलाई सम्बोधन गर्न यही पुस ३० गते केन्द्रीय समिति बैठक बोलाइएको पनि उहाँले जानकारी दिनुभयो । प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘हामीलाई आशा एवं विश्वास थियो – आगामी बैठकमा संयोजक थापालगायत केन्द्रीय सदस्यहरुले आफ्ना भनाईहरु राख्नुहुनेछ, केही असन्तुष्टि रहेका भए पार्टीमा छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ । र, केन्द्रीय समितिको बैठकमा सम्पूर्ण नेताहरुले उदार हृदयकासाथ सकारात्मक योगदान गर्नुहुनेछ । तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो ।’

उज्ज्वल थापाहरुका कारण वैकल्पिक पार्टी निर्माणमा धोका भएको बताउँदै आचार्य भन्नुहुन्छ, ‘पार्टीका केही नेताहरुको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उद्धेश्यलाई घात मात्र भएको छैन, स्वयं पार्टी निर्माणमा लामो समयदेखि क्रियाशील युवाहरु र मतदाताप्रति पनि अन्याय भएको छ । उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ ।’

प्रवक्ता आचार्यले यात्राको दौरानमा अवरोधहरु आउने तर अवरोधहरू खुलेपछि यात्राको गति स्वतः तीव्र हुने बताउनु भएको छ । उहाँले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै पुस ३० गते केन्द्रीय समितिको बैठकको तयारी गरेको पनि जनाउनुभयो । केन्द्रीय समिति बैठकले पार्टीको राजनीतिक तथा सांगठनिक अवस्थाको समग्र समीक्षा गर्नुका साथै केन्द्रीय समिति विस्तार गरी आगामी कार्ययोजना र रणनीति तयार गर्ने पनि प्रवक्ता आचार्यले बताउनुभयो । 

अन्ततः फुट्यो विवेकशील साझा पार्टी

पार्टीभित्र देखिएको पछिल्लो घटनाक्रमबाट विचलित नभै आफूहरु अगाडि बढ्ने पनि प्रवक्ता आचार्यले बताउनुभयो । 

आचार्य भन्नुहुन्छ, ‘विवेकशील साझा पार्टीलाई मूल्य–मान्यतायुक्त लोकतान्त्रिक वैकल्पिक पार्टी बनाउने अभियानमा हामी अविचिलत रहने छौँ । नयाँ दल दर्ताका लागि निवेदन दिनुभएका सबै साथीहरूप्रति शुभकामना व्यक्त गर्न चाहान्छाैं ।’
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया