छाया सरकारले छाया भेटेन : मूलीलाई बालुवाटारको सेप

 पुस २८, २०७५ शनिबार ८:२५:१५ | मिलन तिमिल्सिना
unn.prixa.net

देशमा घाम पार्टीको सरकार भन्नुको मात्रै छ । जाडोमा राप पनि छैन, ताप पनि छैन ।

घामको तातो पाइएला भनेर आश गर्नेहरु निराश छन् । वैशाख, जेठको प्रचण्ड गर्मीमा त राप दिन नसक्ने घामले पुस, माघको चिसोमा राप दिन्छ भनेर आशा गर्नु नै गलत थियो । तै पनि चिसोमा घामले बाहेक अरुले न्यानो दिन सक्दैन भन्ने सबैलाई लाग्यो । त्यसैले सबैले घामतिरै मुन्टो फर्काए । घाम हेर्दाहेर्दै मुन्टो गल्यो, तर राप र ताप पाइएन ।

घामले राप र ताप दिन सकेन भन्ने रुखले बल्ल थाहा पायो । बुढानीलकण्ठमा नीलकण्ठजस्तै मस्त निद्रामा सुतिरहेका रुख पार्टीका मूली आङ बटार्दै उठे । आँखा मिचे । टेबलको चश्मा उठाएर आँखामा लगाए । भित्ताको ऐना हेरे । कताकता के के नमिलेजस्तो लाग्यो । 

वर्ष दिनअघि रुखको हाँगाबिँगा र पात नझरेको भए यतिबेला आफू बालुवाटारमा भइन्थ्यो । घाम पार्टीको सरकारबाट जस्तो आफूबाट जनताले आशा गर्ने कुरा हुँदैन थियो । आशै गर्ने कुरा नभएपछि कोही निराश बन्नुपर्ने पनि थिएन । त्यसैले घाम पार्टीजस्तो असफल हुने कुरै हुन्नथियो ।

सम्झेर रुख पार्टीका मूलीले मुख बिगारे । आफैलाई धिक्कारे । उतिखेरै उनको दिमागको बत्ती पिलिक्क बल्यो । ‘जहाँ घाम, त्यहाँ छाया, घाम पार्टीको सरकार भएको ठाउँमा छाया सरकार त हुने नै भयो’ सोचेर रुखका मूली दंग परे । हत्तपत्त ड्राइभरलाई गाडी निकाल्न लगाए र पार्टीको बैठकमा पुगे ।

‘अब छाया सरकार बनाउनुपर्यो’। चश्मा मिलाउँदै हत्तपत्त उनले भने । कुरो सुनेर अरु गलल्ल हाँसे । मूलीले धेरै मुला खाएछन् कि क्या हो भनेर खानेखुसी गरे । आफ्नो कुरामा ध्यान नदिएको देखेर मूलीको रिस उठ्यो ।

‘ओ प्रकाशशरण महत, ओ रामचन्द्र, ओ विमलेन्द्र, ओ प्रकाश, ओ राम..., एकछिन चुप लाग भन्या, सुनेनौँ ? ओ...’। मूली कराए । मूली बर्बराए, अब चुप लागौँ भनेर एकछिन सबैले सुनेजस्तो गरे ।  ‘घाम सरकारले केही गरेन, अब छाया सरकार बनाउनुपर्‍यो भन्या, कुरो सुन्या हो ?’ मूलीले उस्तै ठूलो स्वरमा भने ।

एकछिन सबै चुप लागे । घाम भएपछि छाया हुनु स्वभाविक नै हो भन्ने सबैलाई लाग्यो । त्यसपछि सबैले हो मा हो मिसाए । ‘घाम भएको ठाउँमा छाया पनि चाहिन्छ, मूलीले यो कुरा चाहिँ राम्रै भनेका हुन्’, सबैले सहमतिको टाउको हल्लाए ।

‘त्यसो भए छाया सरकारको प्रधानमन्त्री को हुने त ?’ फेरि खानेखुशी सुरु भयो ।

‘त्यसको प्रधानमन्त्री त म हुने हो, घाम बालुवाटारमा, छाया बोहोराटारमा भन्न पनि सजिलो’ यसअघि पटकपटक प्रधानमन्त्री बन्न खुट्टा उचालेर पनि पछारिँदै आएका राम बल्याड्याङ बोले ।

‘कहाँ हुन्छ तपाईं त सधैँलाई रामराम, त्यसमाथि तपाईँलाई प्रधानमन्त्रीको अनुभव र बानी नै छैन, प्रधानमन्त्री भैरहने बानी भएकालाई पो पीडा हुन्छ प्रधानमन्त्री नहुँदाको, त्यसैले म नै हुने हो छाया सरकारको प्रधानमन्त्री’, मूलीले आफ्नो मनको मूल कुरा ओकले । 

मूलीले भनेपछि भन्यो भन्यो । हुन्न भन्ने कसको हिम्मत ? हुन्न भनेर पनि हुने केही होइन भन्ने थाहा पाएर सबै चुप लागे । पार्टी मूली नै छायाको पनि मूली हुने भएपछि छाया मूलीको वरपर बस्ने अरु मुलाहरुको खोजी सुरु भयो । बैठकमा पुगेका जति सबैले आफू नै मूला हुनुपर्ने माग गरे । मुला हुन खोज्नेहरुको नाम लेख्दै जाँदा डायरी भरियो । डायरीमा अटेन । मुलाहरुको नाम अर्को दिन टुँग्याउने भनेर मूलीले डायरी गोजीमा हाले ।

त्यसपछि छाया सरकारको कार्यालय कहाँ राख्ने भन्नेबारे छलफल भयो । जहाँ जहाँ घाम पार्टीका प्रधानमन्त्री र मन्त्रीहरु बस्छन्, त्यसकै छाया पर्ने ठाउँमा छाया सरकारको कार्यालय राख्ने निर्णय भयो । यसअनुसार रुखका मूली बालुवाटारको छाया पर्ने ठाउँमै बस्ने भए । ‘बालुवाटारको छाया पर्ने ठाउँमा त सेप पर्छ, यस्तो जाडोमा कसरी सेपमा बस्ने’ मूलीले मूलाहरुसँग चिन्ता पोखे ।

‘जाडो भए नजिकै घाम हुन्छ, घामको सहारा लिने’ मूलाहरुले उपाय सुझाए । मूलीलाई पनि कुरो ठीकै लाग्यो ।

मूलीको टुंगो लाग्यो, कार्यालयको टुंगो लाग्यो । अब छाया सरकार भएपछि त छाया पनि त खोज्नुपर्‍यो। सबैभन्दा गतिलो छाया त रुखको नै हो । रुख भनेको आफ्नै चुनाव चिन्ह । आफ्नै चिन्ह खोज्न के को गाह्रो भनेर मूली र मूलीसँगै छाया सरकारमा जान खोज्ने मूलाहरु रुख खोज्न तम्सिए ।

कोही मूली निवास बुढानीलकण्ठ आसपास पुगे । कोही बोहोराटारको छेउकुना चाहारे । कतिले पार्टी कार्यालय रहेकै सानेपा छेउको बाग्मती खोला किनारमा हेरे । जिल्ला–जिल्ला र गाउँ–गाउँमा पनि छाया पार्ने रुखको खोजी गर्न निर्देशन भयो ।

तर गतिलो रुख एउटै भेटिएन । धेरै रुख त पोहोर चुनावताका नै सुकेका । कति घामले डढे, कति हँसिया हथौडाबाट काटिए । कतिको पात झर्‍यो, कतिको हाँगा भाँचियो । सुकेका र डढेका रुख उठ्ने कुरो भएन । काटिएका, पात झरेका र हाँगा भाँचिएका रुख पनि पलाउने सुर छैन । जता हेरे पनि कि त ठुटैठुटा, कि त हाँगाबिंगा र पात नभएको ठिंगो रुख मात्र ।

कक्रक्क सुक्न लागेको रुख र सुकेको हाँगोको छाया पनि मसिनो । भूइँमा हिँड्ने कमिलोलाई समेत नढाक्ने छाया ! पात र हाँगा नै नभएपछि कसरी भेटिन्छ त गतिलो छाया ? कसैले पनि छाया दिने रुख भेट्न सकेनन् । मूली पनि निराश भए, मूलीसँग पछि लाग्ने मूला पनि थकित भए, मूली र मूलाहरुले भनेको मान्दामान्दै वाक्क भएका कार्यकर्ता पनि दिग्दार भए ।

कार्यकर्ताले भने – पहिले रुखमा हाँगाबिंगा र पात भरौँ । छायाँ बनाऔँ, अनि छाया बनौँला ।

तर मूली र मूला बन्न खोज्नेहरुले मानेनन् । उनीहरुले ढिपी कसे, ‘आफैले काटेको रुखको छायाँ बनाउन तत्काल सकिँदैन, बरु छाया बन्नै सजिलो हुन्छ, त्यसलै घामकै पछि लागेर छाया बनौँ ।’ छाया नभेटे पनि छायाँ बनाउन नसके पनि मूली र मुलाहरु छाया बनेरै बस्न तम्सिए । 
 

अन्तिम अपडेट: चैत १, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया