चिठ्ठा तानेर सांसद आफ्नो कार्यकाल तय गर्दै

 असार ४, २०७५ सोमबार ७:४५:४४ | उज्यालो सहकर्मी

काठमाडौं – राष्ट्रियसभाका सदस्यको कार्यकाल तय गर्न सोमबार गोलाप्रथा गरिँदैछ ।

राष्ट्रियसभा नियमावली अनुसार पहिलोपटकको लागि गोला प्रथाबाट १९ जनाको पदावधि २ वर्षको कायम हुनेछ । त्यस्तै अरु २० जनाको पदावधि पनि गोलाप्रथाबाटै चार वर्ष तोकिनेछ । बाँकी २० जनाको पदावधि भने ६ वर्ष पुरै हुनेछ । यसका लागि सोमबार बिहान साढे ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा गोलाप्रथा गरिने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभाका ५९ सदस्यको कार्यावधि गोलाप्रथाद्वारा २, ४ र ६ वर्षको टुंगो लगाइनेछ । दलित, अल्पसंख्यक र अपांग कोटाबाहेक हरेक प्रदेशबाट चुनिएका राष्ट्रियसभाका सदस्य बीचमा गोलाप्रथा गरिने नियमावलीमा व्यवस्था छ ।

संघीय संसद सचिवालयका उपसचिव दशरथ धमलाका अनुसार गोला प्रथाद्वारा पहिलो चरणमा गोला चुन्ने १९ जना सदस्यले दुई वर्षीय आफ्नो कार्यकालको सुनिश्चितता गर्नेछन् भने भने बाँकी रहेका २० जनाले ४ वर्ष र अन्तिम बाँकी २० जनाले ६ वर्षीय आ–आफ्नो कार्यकालको टुंगो लगाउनेछन् । गोला प्रथा कार्यक्रममा सबै सदस्यहरुलाई विभिन्न ५ समूहमा विभाजन गरिने उहाँले जानकारी दिनुभयो । 

कसरी गरिनेछ गोला ? 

गोलाप्रथा छनौट गर्न सचिवालयले सेतो कागजमा रातो अक्षरमा दुई, चार र ६ वर्ष लेखेर चिट तयार पारेको छ । यो कागजलाई बट्टा भित्र बन्द गर्ने र यसपछि सांसदलाई झिक्न लगाई कार्यकाल निर्धारणको विधि तयार गरिएको छ । गोलाप्रथालाई पूर्ण विश्वसनीय बनाउन कार्यविधि नै तयार पारिएको हो । 

संसद सचिवालयका अनुसार सबैभन्दा पहिला सातवटै प्रदेशका महिला सांसदले क्रमश गोला तान्ने छन् । सांसदले खोलेको गोला संसद सचिवालयका महसचिव वा सांसदले तोकेको प्रतिनिधिले खोलेर देखाउनेछन् ।  हरेक प्रदेशको ३ महिला सांसदमध्ये १ जनाको २ वर्ष, एक जनाको ४ वर्ष र एक जनाको ६ वर्ष पदावधि रहने गरी गोलाप्रथा गराइनेछ ।

महिला सांसद पछि सातवटै प्रदेशका दलित तथा अल्पसंख्यक एंव अपांगता भएका सांसदलाई गोला तान्ने व्यवस्था मिलाइएको छ । दलिततर्फ सात सांसदमध्ये दुई जनाको दुई वर्ष, दुई जनाको ४ र अरु दुई जनाको ६ वर्ष तथा एकजनाको शुन्य वर्ष कायम हुनेछ ।

यस्तै, अपांगता भएकाका तथा अल्पसंख्यकबाट चुनिएका सातमध्ये दुई जनाको दुई वर्ष, दुई जनाको चार वर्ष दुई जनाको ६ वर्ष र एकजनाको शुन्य वर्षको हुनेछ । अन्य खुलाबाट चुनिएका २१ जना सांसदमध्ये सात जनाको २ वर्ष, सात जनाको ४ वर्ष र अरु ७ जनाको ६ वर्ष पदावधि रहनेछ । शुन्य बर्षको गोला तानेका २ जनाले फेरि गोला तान्नेछन् । उनीहरुमध्ये एकजनाको चार बर्ष र एकजनाको ६ वर्ष कार्यकाल रहनेछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया