‘खम्बे’ले अब चलचित्र बनाउने

 पुस २८, २०७५ शनिबार ९:२२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्यव्यङ्ग्य टेलिचलचित्र ‘हर्के हल्दार’का निर्देशक एवं कलाकार इन्द्र दोङ्ग लामा ‘खम्बे’ ले चलचित्र निर्माण गर्ने भएका छन् । उनले निर्माण गर्ने चलचित्रको नाम भने अहिले नै खुलाइएको छैन । 

उनले निर्माण गर्न लागेको चलचित्रको निर्देशन भने शिव शर्माले गर्ने पक्का भएको बताइएको छ । यतिबेला चलचित्रको कथामा काम भइरहेको बताइएको छ । कथाको काम सम्पन्न भएपश्चात चलचित्रको पात्र छनोट गर्ने र नाम सार्वजनिक गर्ने तयारी खम्बेले गरेका छन्  ।उनले काठमाडौंको धर्मस्थलीमा आफ्नै सुटिङ स्टुडियो निर्माण गरेका छन् । स्टुडियोमार्फत उनले विभिन्न म्युजिक भिडियो, टेलीचलचित्र, वृतचित्रहरु निर्माण गर्दै आएका छन् ।

विगत डेढ दशकदेखि कलाकारिता क्षेत्रमा लागेर नेपाली दर्शकहरुको मन जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् कलाकार इन्द्र दोङ्ग लामा ‘खम्बे’ ।  काठमाण्डौको तारकेश्वर नगरपालिका चौगाउँका स्थायीबासिन्दा खम्बे सानैदेखि कलाकारितामा रुची राख्थे ।  

सडक नाटक हुँदै आफ्नो कलाकारिता सुरु गरेका कलाकार इन्द्र दोङ्ग खम्बेले कलाकारिताको सुरुवाति दिनहरुमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँंग विभिन्न टेलिचलचित्रहरुमा अभिनय गर्ने मौका पाए । विभिन्न सडक नाटक, मह चौतारी, प्रहरी अनुरोध, गाइजात्रा तथा मेला महोत्सवबाट कलाकारितालाई निरन्तरता दिँदै आएका उनले पछिल्ला दिनहरुमा एकपछि अर्को हास्य टेलिचलचित्रहरु निर्माण गर्दै आएका छन् ।

उनले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्यव्यङ्ग्य टेलिचलचित्र ‘हर्के हल्दार’ निर्देशन गर्दै आएका छन् । उनी त्यस टेलिचलचित्रमा ‘खम्बे’ नामको पात्रको अभिनय मेत गर्दै आएका छन् । 

उनले ‘हर्के हल्दार’ सँगै नेपाल टेलिभिजनबाट प्रसारण हुने अर्को हास्य टेलिचलचित्र ‘झट्का’ को समेत निर्माण तथा निर्देशन गर्दै आएका छन् । यस्तै उनले रमाइलो टेलिभिजनबाट प्रसारण हुने ‘माइकल ज्याक्सन’ नामक हास्य टेलिचलचित्रसमेत निर्माण गर्दै आएका छन् ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया