शिर, पीर र सतह

 पुस २८, २०७५ शनिबार ९:३६:१ | अनिल पौडेल ‘किर्ते’
unn.prixa.net

थोत्रिएको जीन्दगीका थोपरिएका सपनाहरुको भार थेग्न नसकेर सुन्निएको मगज
घिस्याउँदा घिस्याउँदै अजाट्टिएका पाउ
अड्याउन कहाँ जाउँ ?
आरनमा हाल्ने अँगार जस्तै कालो
तर केहीलाई आकार दिन नसक्ने
अर्कैले हावा फुके पनि 
साँच्चै भारी रहेछ देश साथी
पल्टिरहेछ गाडामाथि

सीमा पारि र वारि बाँडिएको देश
बालुवाको थुप्रोमुनि गाडिएको देश
केश कन्याएर झन् घाइते हुने रहेछ

कालो अनुहार बोकेर सडकमा 
यत्रतत्र छरिएका जिजीविषाहरु
घिसारिरहेछन् पाउसँगै देश
पुरिरहेछन् घाउ अनि घाउसँगै देश

सुन्निएका सपना अनि थुनिएका विपना
दुई पाङ्ग्रामाथिको समतल सतहमा
संसारै लडाएर उकालोमा गुडाएर
छोडिदिउँ जस्तो लाग्छ मध्यबिन्दु चुँडाएर 

भेष लुकेको देश दुखेको
कोशीको पानी आँखामा सुकेको
सीधा उभिए बङ्गालमा जम्छ
घोप्टो परे देश बगाउँछ
चिन्ता खान नपाउनेहरुको
चिन्ता धेरै चपाउनेहरुको
घोप्टिएर खोकल्नेहरुको
अनि रगत ओकल्नेहरुको 

फनफनी घुम्ने पाङ्ग्राहरु
जस्तै घुम्ने मगज 
एकैपटक खाली पार्न पाए
देशसँगै रिँगटा लागेर पछारिनु पर्ने थिएन 
वस्त्रविहीन सकल यसरी लतारिनु पर्ने थिएन 

आँखा खोलेर देखेका सपना र आँखा चिम्लिएर देखेको विपना
यति भारी नभैदिए
हलुका शिरमा देश बोझ बन्ने थिएन
घिटिक–घिटिक चलेको श्वास गन्ने थिएन 
के गरौँ साथी ?

झर्दा झर्दै आँसु बर्सात् बन्न सक्छ
बोल्दा बोल्दै वचन गोली चल्न सक्छ
अनि कसरी झापाले देशलाई अन्न खुवाउँछ ?
कसरी ‘पगरी’ यो शीरमा सुहाउँछ ?

यस्तो लाग्छ
एकदिन राजधानीको हाँसोले पूरा देश रुवाउँछ ।
थाहा छैन
यो सतह सधैँ समतल रहला या नरहला
सुन्निएको देशले पीडा सहला या नसहला

सोच र शोक भरिएको भोक 
गन्तव्य कहाँ ? कसैले नरोक
उकालोमा जेनतेन घिसारौँला बरु
तर...
ओरालो आएमा ‘म’ के गरौँ ??
 

अन्तिम अपडेट: जेठ ५, २०७६

1 Comments

  • Rakesh

    Jan. 12, 2019, 3:38 p.m.

    Wow nice sir

  •  0 Reply

तपाईको प्रतिक्रिया