अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता

 पुस २८, २०७५ शनिबार १६:९:५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीकाण्डौ कि २२ वर्षीया हिरा बोहरालाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ ।

अपाङ्गता भएका बोहरालाई प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको हो । अपाङ्गता भएकी हिरा हिँड्डुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी गैरले बताउनुभयो । अपाङ्गता भएकी छोरीलाई घरमै प्रमुख जिल्ला अधिकारी पुगेर नागरिकता प्रदान गरेकोमा निकै खुशी लागेको हिराका बुवा पूर्ण बोहराले बताउनुभयो ।

जेठी छोरीलाई घरमै पुगेर नागरिकता प्रदान गर्दा केही सहयोग पुग्ने आशा गरेको उहाँले बताउनुभयो । नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि आफू निकै खुशी भएको हिरा बोहराले बताउनुभयो ।

घरमै शिक्षकको व्यवस्था

पूर्णबहादुर बोहराका अपाङ्गता भएका दुईछोरीको पठनपाठनका लागि घरमै शिक्षकको व्यवस्था पनि गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई बैतडी, दशरथचन्द नगरपालिका वडा नमबर  २ को कार्यालय र निङ्गलाशैनी विद्यालय व्यवस्थापन समितिको समन्वयमा घरमै शिक्षकको व्यवस्था गरिएको वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताउनुभयो ।

हिरा र करिश्मालाई दैनिक दुई घण्टा घरमै पढाउने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । करिश्मालाई कक्षा १० को र हिरालाई कक्षा ५ को कोर्स घरमै पढाउने व्यवस्था गरिएको हो । आफूहरुलाइ पढ्ने ठूलो धोको रहेकोले घरमै पढ्न पाउँदा निकै खुशी भएको करिश्मा बोहराले बताउनुभयो ।

संविधानमै शिक्षाबाट कोही पनि बञ्चित नहुनुपर्ने उल्लेख भएकाले उनीहरुका लागि घरमै शिक्षाको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो । 

पूर्णबहादुर बोहराका ४ छोराछोरीमध्ये ३ छोराछोरीहरु अपाङ्गता भएका छन् । १० वर्षीया जयन्त बोहरा, १५ वर्षीया करीश्मा बोहरा र २२ वर्षीया हिरा बोहरा रहेका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया