’प्रेमलीला’को प्रदर्शन मिति सर्‍याे , अब फागुन १० मा आउने

 पुस २८, २०७५ शनिबार १६:१३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

माघ २५ गतेलाई आफ्नो रिलिज गर्ने तयारीमा रहेकाे फिल्म’प्रेमलीला’ले आफ्नो प्रदर्शन मितिलाई केही पछाडि सारेको छ । 

फिल्मको भिएफएक्सको काम सकिन अझै केही समय लाग्ने भएपछि फिल्म निर्माण टिमले प्रदर्शनलाई पछि सारेको फिल्मकी नायिका दिपशिखा खड्काले बताएकी छिन् । 

फिल्म अब फागुन १० गतेदेखि प्रदर्शन हुनेछ । वितरक कम्पनी र निर्माण टिमबीच फागुन १० मा फिल्म सार्वजनिक प्रदर्शनमा ल्याउने सहमति भइसकेको नायिका खड्काले बताएकी छिन् । 

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक र दुई गीत सार्वजनिक भइसकेका छन् भने ट्रेलर छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ । 

पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ । यसैगरी राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजाहसने स्वर दिएका छन् ।

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको अभिनय रहेको छ । 

नायिका खड्काकै कथा रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया