अवैध सुनसहित पक्राउ परेका तीनजनालाई प्रहरीले गर्‍याे सार्वजनिक

 पुस २८, २०७५ शनिबार १७:३२:५७ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – सिरहाको सशस्त्र प्रहरी बल ७ नम्बर गणले अवैध सुनसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ ।

सशस्त्र प्रहरीले शनिबार पत्रकार सम्मेलनमार्फत् पक्राउ गरिएकोहरुको साथबाट एक हजार सात सय ५७ ग्राम ७ सय २० मिलिग्राम अवैध सुनसहित तीन जनालाई सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३४ हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको छ । 

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१९, छर्रापट्टिका अमिरुल खान, मोहमद कयुम र मोहमद रियाज राइन छन् । 

पूर्व-पश्चिम सडक अन्तरगत मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मी खोलाबाट विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुङ्को कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले शनिबार बिहान २ बजेतिर तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ गएिका कयुम र अमिरुलको साथबाट ५०-५० ग्रामको दुई थान बाला तथा रियाजको साथबाट बाँकी ४ थान बाला र पाता आकारको  थप ३ थान सुन बरामद भएको जनाइएको छ । 

प्रहरी उपरीक्षक गुरुङ्का अनुसार पक्राउ गरिएका तीनजनासहित उनीहरु चढेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियो र पौने दुई केजी सुन थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको छ ।

सशस्त्र प्रहरीका एक कनिष्ठ अधिकृतले बिहान ६ जना पक्राउ परेको जानकारी दिएपनि ३ जनालाई पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा एकजना लहानका जनप्रतिनिधि समेत रहेको बताइएको छ । 

गडीका चालकसमेत रहेका अनिरुलले आफूलाई अपरिचित व्यक्तिले लहान पुर्याउन सो सुन दिएको बताए । तर, उनले सुन लहानका कसलाई दिने भनेको भन्ने खुलाउन चाहेनन् । 

उनी नियमितरुपमा सुन तस्करीकै काम गर्ने व्यक्ति रहेको नाम नबताउने सर्तमा लहानका एक सुन व्यवसायीले बताए । अनिरुल पत्रकार सम्मेलनमै पत्रकारहरुमाथि नै खनिएका थिए । 

 


 

अन्तिम अपडेट: चैत ११, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया