स्थिर सरकारको समयमा पनि मुलुकमा सुशासन कायम हुन सकेन: पूर्व राष्ट्रपति डा‍. यादव

 पुस २८, २०७५ शनिबार १८:४:३८ | उज्यालो सहकर्मी

काठमाण्डाै - पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले लोकतन्त्र प्राप्तिपछि पनि मुलुकको अवस्था परिर्वतन नभएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । 

नाइटिङ्गेल अन्तराष्ट्रिय माध्यमिक विद्यालयको २६ औ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति यादवले शिक्षा, स्वास्थ्य, वातावरणलगायत क्षेत्रमा अपेक्षाकृत सुधार आउन नसक्दा आफू दु:खी बनेको बताउनुभएको हो ।

भ्रष्ट्राचार, बेरोजगारी, महिला हिंसालगायतका घटनामा कमी आउन नसकेको तथा मुलुकभर विकासको नाममा विनास हुने काम भइरहेको भन्दै उहाँले त्यसतर्फ सरकार र सरकारमा सहभागी जनप्रतिनिधिहरु गम्भीर बन्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

तीनै तहको निर्वाचन भई सरकारहरु बनेकाले संविधान कार्यान्वय भइसकेको तथा दुई तिहाईको स्थिर सरकार बनेकाले लोकतन्त्रमाथि खतरा भने नरहेको उहाँले उल्लेख गर्नुभयो । यद्यपी उहाँले स्थिर सरकारको समयमा पनि मुलुकमा शुसासन कायम हुन नसकेको गुनासो गर्नुभयो ।

मुलुकभरका ८० प्रतिशत सार्वजनिक विद्यालयको अवस्था अहिलेपनि उस्तै रहेको भन्दै उहाँले ती विद्यालयको गुणस्तर वृद्धिलाई सबै तहका सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले उच्च शिक्षाका लागि अझै पनि युवाहरु विदेशीने क्रम नरोकिएकाले सार्वजनिक विद्यालयको गुणस्तर उकास्दै स्वदेशमै अन्तराष्ट्रिस्तरको अध्ययन सहज र सुलभ बनाउनका लागि सञ्चारमाध्यमले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

लामो संघर्षपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएकाले सबै मिलेर त्यसको संरक्षण गर्दै जनताले अनुभूत गर्ने गरी मुलुकमा शान्ति र समृद्धि कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया