जथाभावी सडक खन्दा बाढी र पहिरोको जोखिम बढ्यो

 असार ४, २०७५ सोमबार ९:४१:१५ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा –  ओखलढुंगाको स्थानीय तहका सबै वडामा अहिले धमाधम सडक खन्ने काम भइरहेको छ ।

वडाको केन्द्रबाट टोलटोलसम्म सडक पुर्याउन प्राविधिक परीक्षण र मापदण्ड विपरित सडक खन्दा गाउँको बस्ती र उर्भर भूमि नै जोखिममा परेको छ । आएको बजेट सक्ने होडबाजीमा सडक खन्ने काम तिब्र गतिमा अगाडि बढेको छ । सडक खन्दासम्म त घरमै सडक आयो भनेर खुशी भएका स्थानीय पानी पर्न थालेपछि सडक नै खहरे भएर उर्लिँदा थातबास नै छोडेर भाग्नु पर्ने अवस्थामा पुगेका छन् ।

‘पहिरो खस्ने त्रासले पानी पर्न थालेपछि निद्रा लाग्दैन’, खिजीदेम्बा गाउँपालिका ४ खिजीकातिका स्थानीय नानीबहादुर खड्काले भन्नुभयो, ‘पोहोर पनि घरमाथि खनिएको सडकबाट पहिरो जाँदा घर छोडर बारीमा टहरा बनाएर बसियो ।’ खड्काको घरमाथि खनिएको सडकबाट बग्ने पानीले हरेक वर्ष पहिरो जान्छ । वर्षादमा खड्काको परिवार पहिरोको जोखिममा ननिदाएरै रात कटाउँछन् ।

मानेभञ्ज्यांग गाउँपालिका–९, तिल्पुङ डाँडाका नरबहादुर श्रेष्ठले घरमाथि सडक खनिएरपछि पहिरो बग्ने डरले घडेरी नै अर्को जग्गामा सारेर भूकम्पपछिको पुनर्निर्माण गर्नुभयो । पहिरो आउने डरले साविकको घडेरी नै छोड्नु परेको उहाँले बताउनुभयो । ‘पहिरो आउने त्रासकै कारणले घडेरी सारेँ’, उहाँले भन्नुभयो ।

नानीबहादुर र नरबहादुर त प्रतिनिधि पात्र मात्रै हुन् । अहिले स्थानीय तहका टोल-टोलमा मापदण्ड विपरित खनिएका सडकले उनीहरुजस्ता हजारौं स्थानीयले विपत्ति भोग्न बाध्य छन् । गाउँमा जताततै खनिएका सडकले भिरालोमा रहेका बस्तीहरु पहिरोको जोखिममा परेका हुन् । पहुँच भएका गाउँका ठूला ठालुले भने अनुसार सडक खनिदाँ कतिपय बासिन्दाको वर्षभरि कमाइ लगाएर अन्नपात तुल्याउने जमिन बगरमा परिणत हुने गरेको छ ।

स्थानीय तहका वडा वडामा बजेट गएपछि विकासको एक मात्रै काम सडक खन्ने होडबाजी चलेको हो । यसले हिउँदमा विकास गरेको देखिए पनि वर्षायाममा विनाशै विनाश नित्याउने गरेको छ । ओखलढुंगाका आठ वटै स्थानीय तहले चालु आर्थिक वर्षमा वडा–वडा र टोल–टोलमा सडक खन्न कुल बजेटको ६० प्रतिशतभन्दा माथि खर्च गरेका छन् ।

मापदण्ड र प्राविधिक सिफारिस बिनै मनपरि खनिएका सडकले वर्षा शुरु भएपछि गाउँ बस्ती जोखिममा पर्न थालेका छन् । ‘विकास गरियो भनेको विपत्ति पो निम्याउने काम गरिएछ’, मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतिराज राईले भन्नुभयो, ‘वडामा सबैले सडक मात्रै माँगे, हिउँदभरि खनिएका सडक अहिले पहिरो बनेर विपत्ति निम्त्याउने डर भयो ।’

मानेभञ्ज्याङ गाउँपालिकाले चालु अािर्थक वर्षको कुल बजेटको ७५ प्रतिशत सडक निर्माणकै लागि विनियोजन गरेको थियो । त्यस्तै मोलुङ गाउँपालिकाले पनि सडक निर्माणमा ६० प्रतिशत बजेट खर्च गरेको छ । सबैको माग सडक नै भएकाले बढी सडक खन्न विनियोजन भएको अध्यक्ष मणिराज राईले बताउनुभयो । सडककै कारण पहिरोको जोखिम बढेको  राईको भनाई छ ।

चालु वर्षमा खनिएका सडक जेठ महिनामा परेको पानीले नै सबै अबरुद्ध बनेका छन् । ‘असार र साउनभरि झरी पर्दा सडकबाटै बाढी आएर गाउँ बगाउने अवस्था छ’, विकास निर्माणको नागरिक अनुगमन गर्ने संस्था सोच नेपालका ओखलढुंगा प्रतिनिधि बीएन श्रेष्ठले भन्नुभयो, ‘गाउँमा अहिले सडकभन्दा तल र माथि परेका घर परिवार पहिरोबाट पीडित भइयो भन्ने गुनासो गर्न थालेका छन्,  अवैज्ञानिक तरिकाले खनिएका सडकले गाउँगाउँमा विपत्ति निम्त्याएको छ ।’

सडक खनेकै कारण सिद्धिचरण नगरपालिका वडा नम्बर ५ वर्णालु, मोलुङ गाउँपालिकाको हर्कपुर, प्राप्चा, खिजीदेम्बाको खिजीकाति खिजीफलाटे लगायतका विभिन्न बस्ती जोखिममा छन् ।

चम्पादेवी र लिखु गाउँपालिकाले ७० प्रतिशतभन्दा बजेट सडक खन्न खर्च गरेका छन् । ती गाउँपालिकामा पनि खनिएका सडकमा पानी पर्दा याममा बाढी बनेर गाउँ पस्न थालेको गाम्नाङटारका मनोज भट्टराई बताउनुहुन्छ । भट्टराईले भन्नुभयो, ‘सडक बाढी बनेर आउँछन्, बर्षायाम लाग्नासाथ सडक भन्दामाथि र तलका घर परिवारको दशा शुरु हुन्छ ।’

विनियोजन भएको बजेट फ्रिज हुने डरमा धमाधम सडक खन्दा गाउँको उर्भर जमिन र सुरक्षित बस्ती नै जोखिममा पर्ने गरेका छन् । ठेकेदार र स्थानीय तहका जनप्रतिनिधिले आफै प्राविधिक बनेर गाउँका उर्भर जमिन र वनजङ्गल मास्दा हिउँदमा उच्च खडेरी र बर्खामा उच्च बर्षातले स्थानीय नागरिकको दैनिक असहज भएको छ । सरकारले विकास निर्माणमा छुट्याएको बजेटबारे अनुगमन नगर्दा अझै पनि पैसा सक्नकै लागि सडक खन्ने होडबाजी रोकएको छैन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया