डाक्टर केसीको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुने

 पुस २९, २०७५ आइतबार ९:२२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं – डाक्टर गोविन्द केसीको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुने भएको छ । गएको बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको प्रतिवेदन आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेश हुने भएको हो ।

दिउँसो १२ बजे बस्ने बैठकमा पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आफूसँगको सहमति विपरितका प्रावधान राखेर चिकित्सा शिक्षा विधेयक तयार पारिएको भन्दै डाक्टर गोविन्द केसीले १६ औं अनसन बसिरहे पनि सरकारले विधेयक अघि बढाउने भएको हो । 

डाक्टर केसी इलाममा अनसनमा बसेको आज पाँचौ दिन हो । मुटुसम्बन्धी समस्याका कारण नियमित औषधि खानुपर्ने भए पनि खाना नै नखाँदा उहाँ शिथिल हुन थाल्नुभएको छ । डाक्टर केसीको शरिरमा ग्लुकोजको मात्रा पनि घट्दै गएकाले उहाँलाई शौचालय जान पनि समस्या हुन थालेको डाक्टरहरुले बताएका छन् । चिकित्सक संघले डाक्टर केसीसँग भएका सहमति कार्यान्वयन गरेर उहाँको जीवनरक्षा गर्न माग गरेको छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया