वाइडबडी प्रकरणमा शेरबहादुर देउवाको संलग्नताबारे जानकारी गराउन सांसदको माग

 पुस २९, २०७५ आइतबार १६:१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले शान्ति सुरक्षा, वाइडबडी खरिद प्रकरण, डाक्टर गोविन्द केसीको मागलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद डिला संग्रौला पन्तले अधिकारकर्मी शारदा चन्दलाई ज्यान मार्ने धम्की आएको र त्यसबारे जिल्ला प्रहरी कार्यालय लगायत निकायमा उजुरी दिएकोमा सुनुवाई हुन नसकेको भन्दै गृहमन्त्रीको जवाफ माग गर्नुभयो ।

उहाँको कल डिटेल जस्ताको तस्तै सार्वजनिक सञ्जालमा पोष्ट गरिएको भन्दै ‘कसरी कलडिटेल व्यक्तिको हातमा पुग्यो’ भन्ने बारे पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

‘निर्मला पन्तका अपराधीलाई कानुनको कठघरामा उभ्याउन नसक्ने, निर्मला पन्तले न्याय पाउनुपर्छ भन्ने व्यक्तिको पछि लाग्ने ?’, उहाँले भन्नुभयो,  ‘सरकारको दायित्व अपराधीलाई पक्रने हो कि व्यक्तिको पछि–पछि रहेर डर धम्की दिने हो ?’

उहाँले शारदा चन्दको सुरक्षाको माग गर्दै व्यक्तिगत स्वतन्त्रता हनन गर्नेमाथि कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सांसद दिलेन्द्र प्रसाद बडूले गैह संवैधानिक रुपमा विश्वविद्यालयहरुमा आतंक फैलाउने काम तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । विश्वविद्यालयहरु स्वायत्त हुने अन्तर्राष्ट्रिय मान्यता विपरीत इतिहासमै नभएको ज्यादती र आतंक मच्चाउने काम वर्तमान सरकारबाट भएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पुस २७ गते परिपत्र जारी गरेर सुदूरपश्चिम विश्वविद्यालयका भाइस चान्सलर र रजिष्टारलाई ‘कुनै काम नगर्नूृ’ भनी छानबिन समिति बनाइएको तथा केही दिन अगाडि मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रारमाथि पनि त्यस्तै व्यवहार गरिएको भन्दै उहाँले हस्तक्षेपकारी भूमिकामा अगाडि नबढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद यज्ञराज सुनुवारले वाइडबडी प्रकरणमा तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नाम पनि जोडिएर आएको भन्दै सत्य तथ्य सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
सांसद कमला रोकाले हिमाली जिल्ला रुकुम पूर्व समग्र विकासको दृष्टिले पछि परेको भन्दै सानी भेरीलाई जोड्ने सडक पुल निर्माणको काम बेवारिसे अवस्थामा रहेकाले तत्काल निर्माण कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया