हस्तान्तरण गरेको एक वर्ष नबित्दै उप्कियो कालोपत्रे

 असार ४, २०७५ सोमबार १२:३:४ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – सिद्धिचरण राजमार्ग अन्तरगत हर्कपुर–ओखलढुंगा सडक खण्डमा कालोपत्रे गरेर हस्तान्तरण गरेको एक वर्ष नबित्दै कालोपत्रे उप्किएको छ ।

कालोपत्रेका क्रममा प्रयोग गरिएको गुणस्तरहीन सामग्रीका कारण अहिले सडकको आधा कालोपत्रे उप्किएको हो । हस्तान्तरण अगावै निर्माण कम्पनीले टालटुल गरेर सडक विभागलाई हस्तान्तरण गरेको थियो । ४२ किलोमिटर सडक खण्डमा अधिकांश भाग उप्किएको छ ।

सडकको केत्तुके आसपास क्षेत्रमा अत्याधिक पत्रे उप्किएको छ । यस क्षेत्रमा हस्तानतरण अघि पनि टालटुल नै गरिएको थियो । तामाङ्ग कन्स्ट्रक्सनले गरेको कालोपत्रेको बालेथामदेखि लगलगे जंगलसम्मको १० किलोमिटर सडक जीर्ण बनेको छ ।

भत्किएकै कारण यस क्षेत्रमा बढी प्राथामिकता दिएर मर्मत गर्नु परेको हर्कपुर–ओखलढुंगा सडक आयोजनाका इञ्जिनियर विश्वशरण तिमिल्सिनाले बताउनुभयो । यस क्षेत्रका अधिकांश मोड र सडक किनारको कालो पत्रे उप्किसकेको छ । यस क्षेत्रमा बढी कालोपत्रे उप्किएको उहाँले भनाई छ ।

एक वर्ष पहिले त्यस सडकखण्ड टालुटुल गरेरै सडक विभागले निर्माण कम्पनीबाट बुझेको थियो । स्थानीयले विरोध गरे पनि ठेकेदार कम्पनी आयोजनाको मिलेमतोमा भत्किएकै अवस्थामा सामान्य टालटुल गरेर सडक हस्तान्तरण गरिएको थियो ।

यो सडकको अन्य खण्डमा पनि कालोपत्रे भत्किन थालेपछि सडक आयोजना टालटुल गर्न थालेको छ । निर्माणको समयमा प्रभावकारी अनुगमन नगर्दा कमसल सामग्री प्रयोग गरेर कालोपत्रे गरिएको सडक भत्किएकै अवस्थामा बुझेपछि कम्पनी र सडक कार्यालयबीच कमिसनको चलखेल भएको स्थानीयको आरोप छ । 

४२ किलोमिटरमा प्रत्येक १०–१० किलोमिटरको टुक्रा बनाएर ठेक्का लगाइएको कालोपत्रेका लागि हर्कपुर–ओखलढुंगा सडकखण्डमा चार वटा निर्माण कम्पनीले ठेक्का पाएका थिए ।

कालिका रमण जेभी, टुँडी कन्स्ट्रक्सन, तामाङ कन्स्ट्रक्सन र तुँदी नागार्जुन जेभीले हर्कपुर–ओखलढुंगाको सडक कालोपत्रे गरेका हुन् । यसमध्ये तामाङ कन्स्ट्रक्सनले कालोपत्रे गरेको सडकको कालोपत्रे सबैभन्दा बढी उप्किएको छ ।

अधिकांश सडक किनारा तथा बीच भागमै खाल्डाखुल्डी बनेको छ । एक किलोमिटर बराबर १ करोड बराबरको लागतमा सडक कालोपत्रे गर्ने ठेक्का लागेको थियो । एडीबीको ६० प्रतिशत सहयोग र नेपाल सरकारको ४० प्रतिशत लगानीमा कालोपत्रे गरिएको हो ।

दश वर्षसम्म आयु रहेको भनिएको कालोपत्रे एक वर्ष नबित्दै भत्किए पनि सरोकारवाला कार्यालयले चासो दिएका छैनन् । अहिले ओखलढुंगा–हर्कपुर खण्डमा गुणस्तरहिन काम गर्ने  यही कम्पनीले ओखलढुंगा–रुम्जाटार सडकको पनि कालोपत्रेका काम गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया