पूर्वाञ्चल विश्वविद्यालयमा भाँडभैलो : प्राध्यापक र कर्मचारीले लगाए ताला

 पुस २९, २०७५ आइतबार २०:९:४८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – पूर्वाञ्चल विश्वविद्यालयकाे रजिष्ट्रार र उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको छ ।

प्रगतिशील प्रजातान्त्रिक प्राध्यापक संघले नाममा विश्वविद्यालयका रजिष्टार र उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेको हो भने कर्मचारीले प्रशासन शाखा र लेखा शाखामा ताला लगाएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालय समन्वय महाशाखाका राजेशकुमार झालाई सह रजिष्ट्रारमा नियुक्त गर्न लागेपछि विश्वविद्यालयभित्र भाँडभैलो शुरु भएको हो ।  विद्यार्थीको भविष्यसँग जोडिएको विश्वविद्यालय आफैँ विवादमा फसेको छ ।

विश्वविद्यालय २५ वर्ष पूरा गरिसकेको अवस्थामा अहिलेसम्म महाशाखा गठन नभएको कर्मचारीको आरोप छ । पटक–पटक यसबारेमा उपकुलपतिलाई जानकारी गराउँदासमेत बेवास्ता गरिएको, कर्मचारीको सरुवा मनोमानी ढंगले गरिएको कर्मचारीकाे गुनासाे छ।

‘कर्मचारी सरुवा गर्दा  कार्यविधि र मापदण्ड नबनाई मनपरी भएको छ’, एक कर्मचारीले भने, ‘मापदण्ड बनाउने समितिले प्रतिवेदन बनाएको हो तर त्यो मापदण्डभित्र कुनै कर्मचारीको सरुवा गरिएन । आफ्ना कुरा राख्न जाँदा हप्की-दप्की गरेर पठाउन थालियो ।’

कर्मचारी सरुवा गर्दा कार्यकारी परिषद्को निर्णयका आधारमा मापदण्ड बनाउने समितिले निर्दिष्ट गरेका आधारमा सरुवा गर्दा आफूहरुको कुनै आपत्ति नहुने कर्मचारीको भनाइ छ ।

आफ्नालाई च्यापेर अरुलाई सरुवा गरेको भन्दै अधिकांश कर्मचारी उपकुलपति घनश्यामलाल दाससँग रुष्ट भएका छन् । विश्वविद्यालयमा नीतिगत निर्णय गर्ने ठाउँमा कर्मचारीको उपस्थिति हुनुपर्नेसमेत कर्मचारीले माग गरेका छन् ।

तर प्राध्यापकले भने नियुक्त भएका कर्मचारीलाई हटाउनु पर्ने माग अघि सारेका छन् । विश्वविद्यायका प्राध्यापक बोधहरी आचार्यले विश्वविद्यालयमा हुने माथिल्लो नियुक्ति मनपरी तरिकाले भएको बताउनुभयो ।

पहिला भएको सम्झौता अनुसार स्थायी प्राध्यापकबाट हुनु पर्ने नियुक्ति नियमविपरीत गएर राजेशकुमार झालाई नियुक्त गरिएको भन्दै प्राध्यापक आक्रोशित भएका हुन् ।

पहिला नियुक्त भएका दुईजना भित्रको मान्छे परेकाले चुप बसेका प्राध्यापकहरु समन्वय महाशाखा प्रमुख  राजेशकुमार झालाई  सह–रजिष्ट्रारमा लगिएपछि आन्दोलनमा उत्रनुपरेको अर्का प्राध्यापकले बताउनुभयो ।

‘यसअघि सह–डिनमा गोपाल शर्मा, शिक्षा तथा कला संकायको डेपुटी डिनमा कोमल गौतमलाई नियुक्त गरिएको थियो’, एक प्रध्यापकले भन्नुभयो, ‘नियुक्त भएका डिनहरु भित्रैका थिए तर अहिले  समन्वय महाशाखामा प्रमुख रहेका राजेशकुमार झाको  पदावधि रहँदा रहँदै अहिले नै अर्को पद सह–रजिष्ट्रारमा लगेर नियुक्त गरिएकोले विरोध गर्नु परेको हो ।’

यसरी नियुक्त भएको भनिएका झा उपकुलपति घनश्यामलाल दासका दाहिने हात मानिन्छन् । उनको पदावधि चैतसम्म रहेको श्रोतले बताएको छ । यसबारे विश्वविद्यालयका उपकुलपति दाससँग सम्पर्क हुन सकेन ।

पटक–पटक विवादमा आएका दाससँग पछिल्लो समय प्राध्यापक तथा कर्मचारी सबै रुष्ट भएको श्रोतको दावी छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया