डा. गोविन्द केसीलाई अस्पताल लगियो

 पुस ३०, २०७५ सोमबार ९:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – ६ दिनदेखि अनसनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई अस्पतालमा सारिएको छ ।

इलामका धर्म गौतमको घरमा अनसन बरिरहेका केसीको मुटुको चाल अनियन्त्रित भएपछि जिल्ला अस्पतालमा सारिएको डाक्टर रामकृष्ण आचार्यले जानकारी दिनुभयो । केसीलाई अस्पतालको बहिरंग विभागमा राखिएको छ । जिल्ला अस्पतलाका डाक्टरहरुले उहाँको स्वास्थ्य परिक्षण गरेका छन् । 

डाक्टरहरुको टोलीले आइतबार गरेको स्वास्थ्य परीक्षणमा केशीको अवस्था कमजोर बनेको, शरीरमा ग्लुकोजको मात्रा घटेको र मुटुको चाल अनियन्त्रित भएकाले जिल्ला अस्पतालमा सार्नुपर्ने निष्कर्ष निकालेको थियो । 

यसैबीच, डाक्टर केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन आज पनि इलाममा र्याली निकालिँदैछ । बिहान ११ बजे इलामको रत्नचोकमा भेला भएर डाक्टर केसीले उठाएका मागको समर्थन गरिने उहाँका समर्थकहरुले बताएका छन् । शनिबार महिला र आइतबार ज्येष्ठ नागरिकले स्वतःस्फुर्त रुपमा र्याली निकालेर डाक्टर केसीले उठाएका मागमा समर्थन गर्दै उहाँसँगको सहमति कार्यान्वयन गर्न माग गरेका थिए । 

सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको, संसदीय समितिले तयार पारेको चिकित्सा शिक्षा विधेयकमा सहमतिको मर्म विपरित रहेकोलगायत माग गर्दै केसी ६ दिनदेखि इलाममा आमरण अनसनमा बस्नुभएको हो । 


 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया