बासुधारा मकर संक्रान्ति मेलामा कलश यात्रा

 पुस ३०, २०७५ सोमबार १५:५०:५६ | विमल बिष्ट

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ मा रहेको बासुधारा शिवालय तीर्थस्थलको मेलामा सोमबार दिउँसो कलश यात्रा शुरु भएको छ ।

दिपायलस्थित बासुधाराबाट निकालिएको कलश यात्रा दिपायल बजार, एअरपोर्ट, पिपल्ला बजार, पुल बजार हुँदै पुनः बासुधारामा गएर सकिएको थियो । कलश यात्रामा देल्पेश्वर माविका विद्यार्थी, स्थानीय भक्तजन तथा साधु सन्तहरुको समेत सहभागिता रहेको थियो ।

सोमबार राति मन्दिरमा सुदूरपश्चिमेली डेउडा खेल हुने र मंगलबार बिहान माघ १ गते भब्य रुपमा मकर मेला लाग्ने भएको छ । मेलाका लागि सम्पूर्ण तयारीसहित सोमबार दिउँसो कलश यात्रा निकालिएको दिप्पेश्वर मठ बासुधारा क्षेत्र विकास समितिका अध्यक्ष कर्ण द्धारीयाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेलाको सम्पूर्ण तयारी पूरा भई कलश यात्रा निकालेका छौं, रातिबाट भव्य मेला लाग्ने छ ।’ भारतको हरिद्वारभन्दा पुरानो तीर्थस्थलको रुपमा रहेको बासुधारा प्रचार प्रसार अभावका कारण अहिले पछाडि परेकाले यसको ऐतिहासिक महत्व झल्काउने उद्देश्यले मकर संक्रान्ति महास्नान मेलाको आयोजना गरिएको समेत दिप्पेश्वर मठ बासुधारा क्षेत्र विकास समितिका अध्यक्ष कर्ण द्धारीयाले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया