किन कुट्छन् नेताले कर्मचारी ?

 पुस ३०, २०७५ सोमबार १७:४६:३० | भाेजेन्द्र बस्नेत
unn.prixa.net

मन्त्रीबाट कुटिएका प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पतालमा उपचार गराउँदै

बिक्रम सम्बत् २०५८ साल चैत महिना । माओवादीको सशस्त्र युद्धका कारण जताततै त्रास नै त्रास थियो । दोहोरो चेपुवाका कारण विशेष अवस्था बाहेक गाउँबाट सदरमुकाम कोही जाँदैन थिए ।

एसएलसी परीक्षा भएकोले सदरमुकाम नगई भएन । मनभरी डरैडर लिएर सल्लेरी गइयो । हतियार देख्नसाथ ज्यान थुरथुर हुने मलाई सल्लेरी गएको भोलिपल्ट एउटा मान्छे निकै आँटी लाग्यो । दोस्रोपटक एसएलसी दिन सल्लेरी पुगेका गाउँकै एकजना दाइले उनको बारेमा चर्चा गरेका थिए ।

पातलोे ज्यान भएका ती शेर्पाले जीवीसको कर्मचारीलाई झापट हानेको चर्चा सुन्दा क्या आँटी मान्छे भन्ने लाग्यो । जिल्ला सभापति भएको बेलामा उनले तत्कालीन जीवीसका एक कर्मचारीलाई पड्काएका रहेछन् ।

आज सोच्छु, त्यसबेला कर्मचारी पिट्नेलाई क्या आँटी भन्ने मजस्तैको सोचका कारण अहिले पनि नेताहरु कर्मचारीलाई कुटपिट गर्न तम्सिन्छन् । २०६६ सालको कात्तिक महिनामा तत्कालीन कृषी तथा सहकारी राज्यमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई झापड हानिन् ।

पछि उनलाई जिल्ला अदालतले २ हजार रुपैयाँ जरीवाना त गर्‍यो, तर नेताबाट कर्मचारी पिटिने क्रम रोकिएन । करिमा बेगमभन्दा अगाडि नै तत्कालीन वन तथा भू–संरक्षण मन्त्री मातृका यादवले ललितपुरका स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेका थिए ।

मन्त्रीहरुले नै झापड हान्दा अलि बढी चर्चा भए पनि अरु नेताले पनि कर्मचारी पिट्ने गरेको यदाकदा सुनिन्छ । चाहे लाहान नगरपालिकाका कर्मचारी बलिराम यादवमाथि नगरप्रमुखले कुटपिट गरेको घटना होस् वा सोलुखुम्बुका स्थानीय विकास अधिकारीलाई नेविसंघका कार्यकर्ताले कुटपिट गरेको घटना होस्, यस्ता घटनाहरु भइरहेका छन् ।

अहिले स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुले कर्मचारीलाई हाजिर हुन नदिने, सरुवाको लागि दबाब दिने, हप्काउने जस्ता घटना सामान्य बन्दै गएका छन् । कतिपय सामान्य कर्मचारी जनप्रतिनिधिबाट हातपात हुँदा समेत चुपचाप बसेको पाइन्छ ।

नेताबाट कर्मचारी किन कुटिन्छन् त ? प्रश्न सजिलो छैन । सामाजिक सञ्जालमा धेरैले मन्त्रीलाई गाली गरेका छन् भने कर्मचारीको पनि कमजोरी हुन सक्छ भन्ने पनि धेरै छन् ।

नेपाल सरकारका एकजना अधिकृत पूण्यप्रसाद भटराईले लेख्नुभएको छ, ‘मान्छेहरु भन्छन्, मन्त्रीले सचिव कुटे । मन्त्रीले गलत गरेका छन् तर म भन्छु, हामीले हुर्काएको राजनीतिक संस्कारले कर्मचारी कुट्यो, तसर्थ हामी गलत छौँ, संस्कार सुधार्न जरुरी छ ।’

हामी अहिले पनि त्यसैलाई नेता मान्छौं, जसले हुलहुज्जत गर्न सक्छ । कसैलाई थर्काउने, ठूलो स्वर गर्ने, नराम्रो भाषा प्रयोग गर्नेलाई हामी सजिलै नेता मान्छौं । गुण्डा नाइकेको पहिचान बनाएका र ज्यान मारेको अभियोगमा फरार रहेकाहरुलाई हामी सजिलै नेता मानेर भोट दिन्छौं भने त्यस्ताबाट राम्रो व्यवहार चाहनु हाम्रै कमजोरी त हो नि ।

हाम्रो मानसिकता नसुधारेसम्म हामीले यहाँ राम्राहरुको खोजी गरेर पनि भेट्टाउन सक्दैनौं । नेताहरुले जे गरे पनि सही भन्दै उनीहरुकै कुरा ठिक मानिरहने हाम्रो चलन अनि जसले ठूलो स्वर गर्छ उही राम्रो नेता मान्ने हाम्रो मानसिकता नै गलत छ । मलाई १८ वर्षअघि कर्मचारी पिट्ने मानिस क्या आँटी भन्ने सोच आएको पनि यसैको उपज हो ।

अहिले सम्झन्छु, नेता भनेको त शालिन, भद्र व्यवहार भएको, विषयबस्तुमा पोख्त, स्पष्ट भिजन भएको, शिक्षित र समाजलाई सही मार्गमा डोहो¥याउन सक्ने पो हुनुपर्छ त । भाँडभैलो मच्चाउने, जथाभावी गाली गर्ने, जे पायो त्यही आरोप प्रत्यारोप गर्ने, हुलहुज्जत गर्नेलाई पनि कसरी नेता मान्ने ?’ 

तर हामीले मानरहेका छौं र त कर्मचारी कुटिन्छन्, नागरिकहरु कुटिन्छन्, बलात्कारीहरु ढुक्कसँग हिँडडुल गर्न सक्छन् । भ्रष्टचारीहरुको बोलवाला जम्छ । यी सबै कारण हामीले कस्ता व्यक्तिलाई नेता मानिरहेका छौं भन्ने नै हो ।

बदल्नुपर्ने सोच नै हो । हामी नेतृत्व गर्ने मान्छे जस्तो भएपनि उसको रवाफकै आधारमा नेता मान्दै जाने हो भने यहाँ कर्मचारी मात्रै हैन, अरु पनि कुटिन्छन् । मान्छे कुटेको, अरुलाई दुःख दिएको, धम्काएको मान्छेलाई नेता मान्ने हामी नै जिम्मेवार बन्नुपर्छ यस्ता दादागिरीमा ।

जबसम्म हामी हाम्रो नेता सभ्य होस्, अनुशासनमा बसेको होस्, लुट्ने–कुट्ने हैन, आम नागरिकको मर्का बुझ्ने होस् भन्ने सोच्दैनौं, तबसम्म नेताहरुको हैकम चलिरहन्छ । यहाँ कुटिएको चर्चा बढी चल्छ, तर नेताबाट दिनहुँ लुटिएको चर्चा हामीले निकै कम गर्ने गरेका छौं ।

पुल कमजोर बनाएर लुटेको होस् वा विमानमा घोटला गरेर लुटेको । ठेकेदारसँग कमिसन लिएर लुट्नेदेखि कागजमा मात्र योजना सम्पन्न गरेर लुट्नेहरुका कारण हामी पीडित भइरहेका छौं ।

यी सबै समस्याको समाधान भनेको योग्य र नागरिक हित गर्न सक्ने नेतृत्व चयन गर्ने नै हो । हुलहुज्जतको पछि लाग्न छाडेर जबसम्म हामी व्यक्ति चिन्न सक्दैनौं, तबसम्म कर्मचारी मात्र हैन आमनागरिक कुटिइरहन्छौं र लुटिइरहन्छौं, जुन क्रम अहिले चलिरहेको छ । 
 

अन्तिम अपडेट: चैत २६, २०७५

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया