पुतली जस्तै सजिएर रनपुतला पर्व मनाउँदै सुदूरका चेलीहरु

 माघ १, २०७५ मंगलबार १०:२९:९ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम कला संस्कृति र पर्यटकीय क्षेत्रको रुपमा धनी मानिन्छ । सुदूरपश्चिमेली देडडा, ठाँडी भाका, हुड्केउली छलीया भुवा यस क्षेत्रको मुख्य संस्कृति हुन् । 

तर परम्परागत रुपमा चल्दै आएको रनपुतला पर्व पनि पछिल्लो समयमा सुदूरपश्चिमका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वको रुपमा प्रचारप्रसार हुँदै आएको छ ।

विवाह गरेर पराई घर गएकी छोरी चेलीहरु माघी पर्वका समयमा आफ्नो माइत आएपछि यो रनपुतला खेल खेल्ने गर्दछन् । रनपुतला खेललाई यहाँका पहाडी जिल्लामा निकै महत्वमा साथ हेरिन्छ ।

रनपुतला पर्व पुस महिनाको १५ गतेदेखि माघ ३ गतेसम्म धुमधामका साथ मनाइने गरिन्छ । यो पर्वलाई देवीदेवताको पर्व वा छोरीबेटीलाई वर्षको एक पटक अनिवार्य भेट गराउने पर्व भएकाले मिलन पर्वको रुपमा पनि लिने गरिएको स्थानीय दुर्गादेवी बिष्टले बताउनुभयो ।

बिष्टका अनुसार विवाह गरेर पराई घर गएकी छोरीहरु एक ठाउँमा जम्मा हुने र घर परिवार तथा अन्य पुराना आफ्ना साथीसँग भेट हुने भएकाले यसलाई छोरीको मिलन पर्व भन्ने गरिन्छ ।

सुदूरको परम्परा अनुसार पुस १५ गते वर्ष भरिको लामो रातको रुपमा लिइ रातभरि गाँउखाने कथाहरु भन्ने, जागाराम बस्ने, तरुल, सकरखण्ड खाने रातको रुपमा लिने संस्कृति रहेको छ । त्यही दिनको रातदेखि रनपुतला पर्वको सुरुवात भएको मानिने अर्की स्थानीय धौलीदेवी कठायतले बताउनुभयो । पर्वको सुरुवात भएपछि रनपुतलाहरु माघ ३ गते पानी पँधेरोमा लगेर विर्सजन गरे देवीदेउता खुसी हुने चलन रहेको छ ।

सयौं वर्ष भन्दा अगाडिदेखि सुरुवात भएको रनपुत्ला पर्व यहाँका पहाडी जिल्लामा निकै भव्यताका साथ मनाइने गरिन्छ । यो पर्वमा विवाह भएका छोरी चेलीहरु राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतली जस्तै भएर सजिने र गाउँ गाउँमा पुतली नाचे जस्तै गरी देउडालगायतका खेल खेल्ने चलन रही आएको छ ।

विषेशगरी छोरीहरु विवाह गरेर आफ्नो घर गइसकेपछि उनीहरुले भोगेका दुःख पीडाहरुको बारेमा बनाइएका गीत गाइने गरिन्छ । यो पर्व सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बझाङ, बैतडी, बाजुरा, दार्चुला, डडेलधुरा तथा डोटीमा विशेष धुमधामका साथ मनाइन्छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया