१५ दिनसम्म लाग्ने मैनी मेला आजदेखि सुरु

 माघ १, २०७५ मंगलबार १२:३६:१९ | सुमित्रा कोइराला
unn.prixa.net

माघ –  हरेक वर्ष माघ १ गतेबाट १५ दिनसम्म लाग्ने मैनी मेला मंगलबारदेखि सुरु भएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ खोक्सा र सिन्धुलीको दुधौली नगरपालिका ९ घोडागाछीको बीचमा त्रिवेणी मेला सुरु भएको हो ।

ककरु, तावा, र कमला नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने मैनी मेलालाई त्रिवेणी मेलाको रुपमा चिनिएको छ । तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बली दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहँदै आएको छ ।

मंगलबार बिहानदेखि नै यो ठाउँमा मकर नहुँउनेको भीड लागेको छ । तीन नदीको संगमस्थल त्रिवेणीमा मकर नुहाउन विभिन्न जिल्लाबाट आउने गरेको स्थानीय देवी घिमिरे बताउनुहुन्छ । ‘मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलि दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ, ।’  उहाँले भन्नुभयो, ‘देशभरका विभिन्न जिल्लाबाट धार्मिक पर्यटकहरु आउने गरेका छन् ।’

यस वर्षको त्रिवेणी मेला आयोजना गर्न सहयोगार्थ स्वरुप व्यवस्थापन गर्न उदयपुर उद्योग बाणिज्य संघ कटारीलाई जिम्मा दिइएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । व्यवस्थापनको जिम्मा पाएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुस्कर खड्काले त्रिवेणी मेला आयोजना गर्दा भएको आम्दामीले अतिथि सदन निर्माणमा खर्च गरिने बताउनुभयो ।

सिन्धुलीको र उदयपुरको सिमा क्षेत्रमा पर्ने तावा, कमला र ककरु खोलाको संगम स्थल त्रिवेणीघाटमा गएको वर्ष दुवैतिर मेला लागेको थियो । यस वर्ष उदयपुरतर्फ मात्र मेला लागेको अध्यक्ष खड्काले जानकारी दिनुभयो । माघ १ गतेदेखि १५ गतेसम्म लाग्ने त्रिवेणी मेला पूर्वी नेपालमै परिचित छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया