कर्नाटकमा फेरि सुरु भयो सत्ता पल्टाउने खेल, कांग्रेसका ५ सांसद ‘बेपत्ता’

 माघ १, २०७५ मंगलबार १२:५९:२९ | एजेन्सी
unn.prixa.net

भारतको कर्नाटक राज्यमा फेरि एक पटक सत्ता पल्टाउने चलखेल सुरु भएको छ ।

मुख्यमन्त्री एचडी कुमारस्वामीले भारतीय जनता पार्टी(बीजेपी) माथि आफ्ना सांसदहरुलाई फुटाउन लागेको आरोप लगाएका छन् । तर उनले आफ्ना सांसद बीजेपीको बहकाउमा नलाग्ने पनि स्पष्ट पारेका छन् । 

बीजेपी नेता तथा पूर्व मुख्यमन्त्री बीएस येदियुरप्पाले भने उल्टै कांग्रेस तथा जनता दल सेक्युलर(जेडीएस) गठबन्धनमाथि आफ्ना सांसदलाई मन्त्री पदको लोभ देखाएको आरोप लगाएका छन् । उनले भने, ‘जेडीएस भाजपा सांसदलाई फुटाउन चाहन्छ । त्यसैले हामी अहिले एकै ठाउँमा छौँ । हामी अझै एक दुई दिन दिल्लीमै बस्नेछौँ ।’

कांग्रेसले पनि आफ्ना केही सांसदालाई बेपत्ता पारिएको आरोप लगाउँदै बीजेपी ‘अपरेसन लोटस’ मा काम गरिरहेको आरोप लगाएको छ । यो शब्द पहिलो पटक सन् २००८ मा चर्चामा आएको थियो । त्यतिबेला तत्कालीन मुख्यमन्त्री बीएस येदियुरप्पामाथि आफ्नो सरकारको स्थिरता सुनिश्चित गर्न सांसदहरु किनेको आरोप लागेको थियो । 

यसैबीच बीजेपी सांसद पूर्णिमा श्रीनिवासले चाँडै कर्नाटकको गठबन्धन सरकार ढल्ने दाबी गरेकी छिन् । उनी भन्छिन्, ‘जेडीएस र कांग्रेससँग सरकार बनाउन पर्याप्त संख्या नभएकैले गठबन्धन बनाएका थिए । तर अहिले उनीहरुबीच झगडा सुरु भएको छ । यस्तो अवस्थामा हामीले सरकार ढाल्न केही काम नै गर्न पर्दैन ।’

२२४ सदस्य भएको कर्नाटक विधानसभामा जेडीएस–कांग्रेस गठबन्धनसँग ११८ सांसद छन् । कर्नाटकमा सरकार बनाउन ११३ सांसद चाहिन्छ । बीजेपीसँग एक्लै १०४ सांसद छन् ।

कांग्रेसले आफ्ना सांसदलाई प्रलोभन देखाएर बीजेपी सरकार ढाल्ने काममा लागेको आरोप लगाएको छ । यसै कारण आफ्ना ५ सांसद बेपत्ता पारिएको कांग्रेसले आरोप लगाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया