श्रीमतीले आत्महत्या गरेपछि श्रीमान फरार

 माघ १, २०७५ मंगलबार १९:५९:३१ | अमर सुनार
unn.prixa.net

दैलेख – घरायसी विवादका कारण श्रीमतीले आत्महत्या गरेपछि दैलेखको आठबीस नगरपालिका–१ सुकीपिउलीका ३० वर्षीय पदमलाल नेपाली फरार भएका छन् ।

खानाको विषयमा विवाद भएपछि गएराति साढे ८ बजेतिरको समयमा २८ वर्षीया रीमा नेपालीले घर नजिकैको धाइडाको रुखमा पासो लगाएर आत्महत्या गरेपछि उनी फरार भएको प्रहरीले जनाएको छ ।

‘बोइलरको मासु मैले खाँदिन भन्ने थाहा पाइपाई किन ल्याएको ?’ भनी रीमाले प्रतिक्रिया जनाएपछि दवैै जनाबीच कुटाकुट भएपछि त्यतिबेलै ‘भारत जान्छु’ भनेर पदमलालले झोला बोकेर हिँडे लगतै रीमाले आत्महत्या गरेको खुल्न आएको आठबीस नगरपालिका–१ कि वडा सदस्य कमला थापाले बताउनुभयो ।

वडा सदस्य थापाका अनुसार १० वर्षको ठूलो छोरा, ६ वर्ष छोरी र ४ वर्षको कान्छो छोरा समेतले बुबाआमाको झगडा देखेका, बुबा भारत जान्छु भनेर हिँडे लगतै आमाले सलको पासो लगाएको थाहा पाएर बच्चाहरु चिच्याएपछि छिमेकी कुलबहादुर नेपालीले पासो हँसियाले काटेर बचाउन प्रयत्न गर्दागर्दै रीमाको ज्यान गएको हो ।

घाँटीमा पासो लगाएको र खुट्टा छटपटाएको देखेपछि ‘बचाउन पो सकिन्छ कि’ भनेर डोरी काटेर पानी खुवाउन खोज्दा तत्काल प्राण गएको अरु प्रत्यक्षदर्शीहरु समेतले देखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि खुलेको छ ।

केही पर पुगेको बेला घर नजिकै धेरै हल्ला सुनेपछि फेरि फर्किएका पदमलाल पासो काटेर पानी खुवाउन लाग्दासम्म त्यही उभिएका र रीमाको प्राण गयो भन्ने निश्चित भएपछि उनी त्यतिबेलै फरार भएको स्थानीय मानबहादुर नेपालीले बताउनुभयो ।

सदरमुकामबाट एक दिनको बाटो भएका कारण प्रहरी टोली पठाई घटना प्रकृति मुचुल्का र मृतकको शव पोष्टमार्टमका लागि दुल्लू अस्पतालमा मंगलबार राति पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

पासो काटिएको र श्रीमान भागेको कारण प्रहरीले यो घटनालाई शंकास्पद रुपमा लिएको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया