राष्ट्रियसभा बैठकमा राधेश्याम अधिकारीको प्रश्न : डाक्टर केसीसँग गरेको सम्झौता कार्यान्वयनमा सरकारलाई कसले रोकेको छ ?

 माघ २, २०७५ बुधबार १५:५३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले डाक्टर गोविन्द केसीको माग सम्बोधन, उखु किसानका समस्या समाधानलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य रामलखन चमारले उखु किसानको समस्याको दीर्घकालीन समाधानका लागि किसान, मिल संचालक र प्राविधिकहरु सम्मिलित उच्चस्तरीय कृषि आयोग गठन गर्न माग गर्नुभयो ।

बर्सेनि उखु किसान र मिल सञ्चालकबीच उखु खरिदको मूल्य र सरकारी अनुदान, खरिद मूल्यलगायतमा समस्या देखिने गरेको भन्दै उहाँले सबै समस्याको दीर्घकालीन समाधानका लागि भिन्नै आयोग गठन गर्न आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले नेपाल प्राकृतिक विपद्को अत्याधिक जोखिममा रहेको देशमा रहेको भन्दै ती जोखिमबाट बच्नको लागि योजनताबद्ध रुपमा सबै तहमा कार्यक्रम संचालन गरिनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विद्युतीय सवारी साधन संचालनको प्रयोग सरकारी कार्यालयबाट नै सुरुवात गर्न पनि सुझाव दिनुभयो ।

राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँको स्वास्थ्यमा गिरावट आउने क्रम बढेको भन्दै डाक्टर केसीको स्वास्थ्यप्रति जिम्मेवार बन्न सरकारलाई सचेत गराउनुभयो । ‘डाक्टर केसीसँग आफैले गरेको सम्झौता कार्यान्वयनमा सरकारलाई कसले रोकेको छ’ भनी उहाँले प्रश्न गर्नुभयो ।

उहाँले बीपी कोइराला प्रतिष्ठान धरानका विशेषज्ञ चिकित्सकहरुलाई गृह मन्त्रालयको आदेशमा फर्काइएको विषयले आफूहरुलाई थप चिन्तित बनाएको भन्दै त्यसबारे सत्य तथ्य जानकारी गराउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको अर्को एउटा समाचार छ । जसले हामीलाई अत्यन्तै चिन्तित बनाएको छ । बीपी कोइराला प्रतिष्ठान धरानका विशेषज्ञ चिकित्सकहरुलाई गृहमन्त्रालयको आदेशमा फर्काइयो । यो सत्य हो कि होइन, सरकारले समयमै मुख खोलेको बेस ।’

सरकारले बुद्धिजीवीहरुलाई ठेगान लगाउने प्रयास गरिरहेको भन्दै उहाँले डाक्टर केसीको मागलाई पनि सोही ढंगले हेरेको हो भने त्यो ठूलो र्दुभाग्य हुने चेतावनी दिनुभयो । उहाँले बहुमतबाट विधेयक पारित गर्ने प्रयास गरिए डाक्टर केसीको पक्षमा आवाज बुलन्द हुने तर्फ हेक्का राख्न पनि सरकारलाई सचेत गराउनुभयो ।

राष्ट्रियसभा सदस्य राजकुमार कुँवरले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र जनजाति आन्दोलनका मृतक सबैलाई शहिद घोषणा गरी घाइते र अपाङ्ग भएकालाई उपचार र जीवननिर्वाह भत्ता उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक २०७५’ र ‘भुक्तानी तथा फस्र्यौट विधेयक २०७५’ टेबल भएको छ । बैठकमा विज्ञापन (नियमन गर्ने) विधेयक २०७५, जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन)विधेयक २०७५ र नागरिक लगानी कोष(दोश्रो संशोधन) विधेयक २०७५ पेश भएको छ ।

तीनै विधेयकसभा समक्ष पेश गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सूचना परेका थिएनन् । साथै बैठकले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक २०७५ लाई दफाबार छलफलको लागि विधायन समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मति पारित गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक आगामी सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया