राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित

 माघ २, २०७५ बुधबार १६:५:११ | हेमराज शर्मा
unn.prixa.net

दाङ – घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन ।

आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीहरु बुधबारदेखि आन्दोलित भएका हुन् । कर्मचारी संघर्ष समितिको आह्वानमा कर्मचारीहरुले प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै सम्पूर्ण प्रशासनिक कार्यालयमा तालाबन्दी गरेका छन् ।

बुधबार प्रशासनिक काम ठप्प पारेका कर्मचारीहरुले बिहीबार इमर्जेन्सी, प्रसुती बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएका छन् । त्यस्तै आफ्ना माग पूरा नभए माघ ४ गतेदेखि देशव्यापी आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।

राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भएपछि प्रतिष्ठानका पदाधिकारी व्यक्ति स्वार्थमा लागेर तानाशाही प्रवृत्ति देखाएको भन्दै ८० भन्दाबढी स्वास्थ्यकर्मी, कर्मचारीहरु आन्दोलित हुँदै आएका छन् । आन्दोलित कर्मचारीहरुले कर्मचारीहरुको समायोजन हुनुपर्ने, तबल खुवाउनुपर्ने, सुविधा कटौती गर्न नहुनेलगायतका ८ बुँदे माग राख्दै आएका छन ।

प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारमा श्रेणीविहीन कर्मचारीहरुको म्याद थप नगरेको साथै चिकित्सकको समेत म्याद थपका लागि आवश्यक सिफरिस नगरेपछि आन्दोलन थालेको संघर्ष समितिका अध्यक्ष हिमराज गौतमले जानकारी दिनुभयो ।

प्रतिष्ठानले तत्काल म्याद थप गरेर समायोजन गर्नुको साटो साविक अस्पताल विकास समिति र सरकारका करार कर्मचारीलाई निष्काशन गर्न पत्र तयार पारेको भन्दै अध्यक्ष गौतमले बाध्य भएर आफूहरु आन्दोलित भएको बताउनुभयो ।

राप्ती उपक्षेत्रीय अस्पतालको अर्बोको सम्पती तथा जिन्सी प्रतिष्ठानमा अटाएको अवस्थामा सोही अस्पतालमा वर्षौंदेखि कार्यरत कर्मचारी निकालिनु दुर्भाग्य भएको अध्यक्ष गौतमले बताउनुभयो ।

उहाँका अनुसार अस्पतालका कर्मचारीहरुलाई गएको साउनदेखि तलवब पाएका छैनन् । विगतमा अस्पताल सञ्चालन गर्न ल्याइएको औषधि, सर्जिल सामान, ल्याब र एक्सरेको सामान, कार्यालय सामानको समेत व्यापारीलाई भुक्तानी नगरेको पनि अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया