डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा चुनौती

 माघ २, २०७५ बुधबार १७:११:१९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीका दश ओटै स्थानीय तहहरुमा फोहर फाल्ने डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापन चुनौती बन्दै गएको छ ।

जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकासँग पनि डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा समस्या देखिएको छ । उपयुक्त जमिन नपाएको भन्दै यो नगरपालिकाले पनि अस्थायी रुपमा नै फोहर व्यवस्थापन गर्दै आइरहेको छ ।

२०५४ सालमा स्थापना भएको नगरपालिकाले विभिन्न ठाउँमा अस्थायी रुपमा फोहर व्यवस्थापन गर्दै आएको छ । केही वर्षसम्म सडक छेउमै फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाले जनप्रतिनिधि आएपछि वडा नम्बर ६ को आमपिपलमा अस्थायी रुपमा फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताउनुभयो ।

डम्पिङ साइटको लागि जमिन खोज्न थालेको वर्षौं भए पनि उपयुक्त जमिन नमिलेको उहाँले बताउनुभयो । नगरपालिकाको क्षेत्र विस्तार भएकाले सबै वडाको फोहर व्यवस्थापनका लागि पायक पर्ने जमीनको खोजी भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।

फोहर व्यवस्थापनका लागि नगरपालिकाले सुरुदेखि नै पहल थालेको भए पनि जमिन नपाउँदा समस्या भएको छ । यस्तै पाटन नगरपालिकामा पनि फोहर व्यवस्थापनको समस्या देखिएको छ । पाटन नयाँ शहर आयोजनाले डम्पिङ साइड निर्माण गर्ने भनेकाले नगरपालिकाले त्यसका लागि बजेट विनियोजन नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबीन अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाले अहिले घाङल खोलामा अस्थायी रुपमा फोहर व्यवस्थापन गरिरहेको छ । खुला रुपमै खोलामै फोहर फाल्ने गरेको त्यो फोहर सुर्नया नदीमा मिसिने गरेको छ । पाटन नयाँ शहर आयोजनाले बजारभन्दा टाढा सुन्तोली भन्ने ठाउँमा डम्पिङ साइड बनाउने तयारी गरेको थियो । तर त्यहाँसम्म पुग्ने सडक समेत निर्माण गरिएको छैन् ।

राज्यपुनर्संरचनापछि स्थापना भएका मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकामा पनि डम्पिङ साइटको व्यवस्था छैन । बजारमा निस्कने फोहरको व्यवस्थापन नहुँदा तिनीहरुले विभिन्न खालका स्वास्थ्य समस्या ल्याउने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

धेरैजसो स्थानीय तहमा जमिन अभावका कारण डम्पिङ साइटको निर्माण हुन नसकेको स्थानीय तहहरुले बताएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया