भूकम्पपीडितसँग घुस लिँदै गर्दा सब–इन्जिनियर पक्राउ

 असार ४, २०७५ सोमबार १८:४८:३० | उषा तामाङ

दोलखा – भूकम्प प्रभावितसँग घुस लिँदै गर्दा  एक जना सब–इन्जिनियर पक्राउ परेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर –९, सुन्द्रावतीमा खटिएका सब–इन्जिनियर राम नरेश यादवलाई ९ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।  

रणबहादुर थामीले दिँदै गरेको नगद ९ हजार रकमसहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानअायोग ३ नम्बर प्रदेश हेटौंडाको कार्यालयका प्रहरी निरीक्षक बिनी महादेव पौडेलले जानकारी दिनुभयो ।

सब–इन्जिनियर यादवले पटक–पटक घुस मागेर हैरान पारेपछि जिल्ला प्रशासन कार्यालयमा खबर गरिएको थियो । पीडितले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३ नम्बर प्रदेश हेटौंडाको कार्यालयमा प्राविधिकले माग गरिएको घुस रकम उपलब्ध गराइदिने सम्बन्धमा निवेदन दिनुभएको थियो । 

घुस लिँदालिँदै पक्राउ गरेको इन्जिनियरलाई छुटाउने माग राखी दोलखा सुन्द्रावतीका केही स्थानीयले ३ घण्टा सडक जाम गरेका थिए । इन्जिनियर यादवले भूकम्प पीडितहरुको आवास निर्माण गर्ने क्रममा मापदण्ड नपुगेका घरधनीबाट पैसा लिँदै पास गर्दै गरेको र केहीको हकमा घर नै नबनी अन्य घरको फोटो देखाइदिएर पैसा लिने गरेको स्थानीयहरु बताउँछन् । सडक अवरोध गरेका स्थानीयबासीले भने त्यस कुराको बचाउ गर्दै इन्जिनियर इमानदार भएकाले फसाउन खोजिएको जिकिर गरेका छन् । विवाद बढ्दै गएपछि गाउँपालिका अध्यक्ष विनकुमार थामीले सडक जाम हटाउनुभएको थियो ।

दोलखामा पुनर्निर्माण कार्य सुरु भैसकेपछि केही इन्जिनियरहरुले चंखु, जिरी लगायतका ठाउँहरुमा अनियमितता गरेका कुरा विगतमा पटक–पटक सुनिए पनि यसपटक भने अख्तियारले पक्राउ नै गरको छ । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया