हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

 माघ ३, २०७५ बिहिबार ६:४७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सोताङ गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोलु अस्पताल फाप्लुका प्रमुख चिकित्सक मिङ्मार छिरिङ शेर्पाको पहलमा बुधबार १८ वर्षीया लाफुटी शेर्पाको उद्धार गरिएको अस्पतालकी सूचना अधिकारी सानी शेर्पाले जानकारी दिनुभयो । 

कैलाश हेलिकप्टरमार्फत उद्धार गरिएको चिकित्सक शेर्पाले जानकारी दिनुभयो । गर्भवती शेर्पाले बुधबार ३ बजेर ४ मिनेटमा शल्यक्रियामार्फत तीन केजी सात सय ग्रामकी छोरीलाई जन्म दिनुभएको थियो । चिकित्सक शेर्पाका अनुसार दुई घण्टामा शल्यक्रिया गर्नुपर्ने भए पनि तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावका कारण ११ घण्टा लागेको थियो ।

आर्थिक अवस्था कमजोर र जटिल परिस्थितिमा नेपाल सरकारले निःशुल्क उद्धार गर्ने व्यवस्था अनुरुप नै उद्धार गरिएको उहाँले बताउनुभयो । शल्यक्रियापछि आमा र बच्चाको अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । 

यो सँगै दुई महिनाको अवधिमा सोताङबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गर्नेको सङ्ख्या तीन पुगेको छ । पछिल्लो समय नेपाल सरकारले आर्थिक अवस्था कमजोर र जटिल अवस्थाको गर्भवती महिलालाई निःशुल्क उद्धार गर्ने नीतिको कारण भने यहाँका स्थानीयवासीले राहत महसुस गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया