दुईजना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

 माघ ३, २०७५ बिहिबार १५:५९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संसदीय सुनुवाई विशेष समितिले दुईजना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारद्धारा फ्रान्सका लागि प्रस्तावित राजदूत दिपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिवद्धय अधिकारी र ढकालको नाम क्रमशः फ्रान्स र थाइल्याण्डको राजदूतमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

गएको पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारी र ढकालसहित विभिन्न देशका लागि पाँचजना राजदूतको नाम सिफारिस गरेको थियो । बैठकमा फ्रान्सका लागि प्रस्तावित राजदूत अधिकारीले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू लागिपर्ने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले देशको समृद्धिका लागि आर्थिक कूटनीतिलाई पनि आफूले प्राथमिकता दिने स्पष्ट पार्नुभयो ।

थाइल्याण्डका लागि प्रस्तावित राजदूत ढकालले देशमा लगानी भित्र्याउने विषयलाई आफूले उच्च प्राथमिकता दिने बताउनुभयो । उहाँले थाइल्याण्ड नेपालको विकास साझेदार देश भएकाले थप लगानीको सम्भावनाको खोजी गर्ने योजना पनि समितिलाई जानकारी गराउनुभयो ।

समितिको अर्का बैठक आगामी माघ ८ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ । बैठकमा बाँकी रहेका कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि प्रस्तावित राजदूत भृगु ढुंगाना र संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्तीका लागि प्रस्तावित मणिप्रसाद भट्टराईसँग सुनुवाई गर्ने निर्णय पनि गरिएको समितिका सभापति कर्णले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया