१३ वर्षकै उमेरमा ड्रोन चलाएर लाखौं कमाउँछन् यी बालक

 माघ ३, २०७५ बिहिबार १७:१६:१३ | एजेन्सी
unn.prixa.net

१३ वर्षका हड्सन हर्न अष्ट्रेलियाको सनशाइन कोस्टमा चम्किलो बालुवामाथि ड्रोन उडाउँदै छन् । उनको नजर मिनि एयरक्राफ्ट र रिमोटसँग जोडिएको मोनिटरमाथि केन्द्रित छ । मोनिटरमा कुनै सुन्दर आकृति देख्नेबित्तिकै उनी क्यामेरालाई कमाण्ड दिन्छन् र तत्कालै फोटो खिचिन्छ । 

अहिलेको जमानामा पैसा कमाउनको लागि किशोर किशोरीहरु विभिन्न तरिका अपनाइरहेका छन् । कोही बालमजदूर बनेर जीविका चलाउँछन् भने कोही परिवारको व्यवसायमा सहयोग गर्छन् । 

सामान्यतया किशोरकिशोरीहरुले कमाउनेबारे सोचेका पनि हुदैनन् । हाँस्ने-खेल्ने, विद्यालय जाने र होमवर्क गर्ने उमेर मानिए पनि कोही बाध्यताले त कोही रहरले सानै उमेरमा मनग्य पैसा कमाउन सफल बनेका उदाहरणहरु छन् ।

हड्सन पनि यस्तै उदाहरण मध्येका एक पात्र हुन् । उनी १३ वर्षको कलिलो उमेरमा ड्रोनबाट फोटोे खिच्छन् र खिचेका फोटोहरु बेच्छन् । अर्थात उनी ड्रोन फोटोग्राफर हुन् । उनी ड्रोन वयवसाय चलाउँछन्, जसलाई उनले नेक्स्ट लेभल नाम दिएका छन् ।

उनी फोटोग्राफी गर्छन् । उनलाई अष्ट्रेलियाका ड्रोन किडको रुपमा पनि चिनिन्छ । उनले आफ्नो आमाबुवाको सहयोगमा ड्रोन फोटोग्राफीको व्यवयाय सुरु गरेका थिए । उनले आफ्नो रुचिलाई व्यवसायमा बदलेका छन् र एक किशोर उद्यमी बन्न सफल भएका छन् ।

उनी भन्छन्, ‘थप पैसा कमाउनको लागि मैले दुई वर्षदेखि नयाँ प्रविधिको प्रयोग गर्दै आएको छु ।’

अघिल्लो वर्ष उनले ७ हजार डलरभन्दा बढी कमाइ गरेका थिए । कुनै स्कुले छात्रको लागि यत्तिको कमाइ चानचुने कुरा होइन ।

होर्न रियल स्टेट (घरजग्गा व्यवसाय) को फोटोग्राफी गर्छन् । उनी विशेष आयोजकहरुलाई फोटोग्राफीको लागि बोलाउँछन् र खिचेका फोटोको पोस्टकार्ड बनाएर उनीहरुलाई बेच्छन् । कहिलेकाहीँ उनी बिहेमा पनि ड्रोन फोटोग्राफी गर्छन । केही प्रोजेक्ट निर्माता तथा रियल स्टेट बिल्डर पनि उनीबाट सेवा लग्दै आएका छन् । 

हुने बिरुवाको चिल्लो पात - हाेर्न

पहिलाे पटक ९ वर्षकाे उमेरमा होर्नले हातमा ड्रोन परेकाे थियाे । त्योभन्दा अगाडिदेखि नै उनलाई मेसिनहरुसँग लगाव थियो । उनी आठ वर्षकाे हुँदा रेडियो कारको पाटपुर्जा निकालेर त्यसको परीक्षण गर्ने गर्थे । पछि बिस्तारै उनले ड्रोनको बारेमा पनि यस्तो परीक्षण गरे र त्यसको बारेमा राम्रोसँग सिके । उनी भन्छन्, ‘मेरो रुचि नै रोबाेटिक्समा छ, रोबाेटले कसरी काम गर्छ, म जान्न चाहन्छुँ ।’

उनी ड्रोनको इन्जिनलाई खोलेर त्यसका प्रत्येक पाटपुर्जाको काम समेत के हो थाहा पाउँछन् । बिग्रेको ड्रोनलाई बनाउनमा पनि उनी सिपालु छन् । 
आफ्नो पहिलो ड्रोन किन्नको लागि उनले आफ्ना बाल्यकालका खेलौनाहरु समेत बेचेका थिए । पैसा अपुग भएपछि उनले आफ्ना बुवाआमाबाट सापट लगे ।

रियल स्टेटमा उनको पहिलो काम

एक दिन उनी समुन्द्री किनारमा ड्रोन उडाउने र त्यसबाट फोटो खिच्ने अभ्यास गर्दै थिए । त्यहाँ उनकी आमाकी साथी आइन्, जो रियल स्टेट (घरजग्गा किनबेच)मा काम गर्थिन् । उनैले होर्नलाई पहिलो काम दिएकी थिइन् ।

रियल इस्टेटको पहिलो काम सिद्याएपछि उनले मछुवारहरुको एउटा प्रतिस्पर्धाको फोटोग्राफी गरे र फोटोहरु मछुवारेहरुलाई बेचे । यी किशोरले ६ महिनाको बिजनेस कक्षा पनि चलाइसकेका छन् ।

उनी भन्छन्, ‘यदि तपाईं व्यवसाय गर्न चाहनुहुन्छ भने अघिल्लो लगानीलाई दुइगुना बढाउनुपर्ने हुन्छ भन्ने कुरा मैले सिकेको छु।’

होर्नले जब व्यवसाय सुरु गरेका थिए त्यतिबेला उनी मात्र ११ वर्षका थिए । कानुनी रुपमा उनी आफ्नो व्यवसाय चलाउनमा सक्षम थिएनन् । त्यसकारण उनले फ्यामिलि ट्रस्ट पारिवारिक काेष बनाए र त्यसैअन्तरगत उनले आफ्नो व्यवसाय चलाउन पाए ।

पाटपूर्जामा भविष्य

हर्न खाली समयमा पनि ड्रोन चलाएर बस्छन् । उनी भन्छन्, ‘भिडियो गेम खेलेर बस्नुको सट्टा म दिनभर ड्रोनका पाटपूर्जा जोडेर बस्छु ।’

उनका अन्य रुचिहरु पनि आम बालकको भन्दा फरक छन् । उनी पहाडमा साइक्लिङ गर्न रमाउँछन् र स्कुल पनि साइकलमा चढेरै जान्छन् । आउँदा दिनमा के बन्ने भन्ने थाहा नभए पनि होर्न आफ्नो भविष्य भने रोबोटिक्समै देख्छन् ।

उनी आफ्नो भविष्य ड्रोनसँग जोडिएको छ भन्नेमा ढुक्क छन् । तर उनी ड्रोनबाट फोटोग्राफी गरेर मात्र सन्तुष्ट छैनन् । उनको आफ्नै ड्रोन बनाउने पनि सपना छ । उनी भन्छन्, ‘यदि म फोटोग्राफीको व्यवसायबाट अलग भएमा ड्रोन निर्माण गर्न सक्छु ।’

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया